ग्रील तथा स्टील ब्यावसायीद्धारा ग्रील ग्रामको माग

बुलेटिन संवाददाता
२ फाल्गुन २०७६, शुक्रबार १८:३७

बुटवल । ग्रील तथा स्टील ब्यावसायीहरुले छुट्टै ग्रील ग्राम स्थापनाका लागि बुटवल उपमहानगरपालिकासंग माग गरेका छन् । ग्रील तथा स्टील ब्यावसायी संघ रुपन्देहीको दशौं स्थापना दिवस तथा वार्सिक उत्सवका अवसरमा व्यवसायीहरुले उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीसंग ग्रील ग्राम अति आवश्यक भएको माग गरेका हुन् ।

अटो भिलेज जस्तै छुट्टै ग्रील ग्राम स्थापना हुन सके विना दर्ता चलेका व्यवसायी दर्ता गरेर करको दायरामा आउने, व्यवसाय मर्यादित हुने, ध्वनी प्रदुषण र वातावरण प्रदुषण यत्रतत्र हुन रोकिने र दर रेटमा एकरुपता आई उपभोक्ता लाभान्वित हुने व्यवसायीले बताए । ग्रील ग्राम नहुंदा विना दर्ता झोलामा औजार बोकेर काम हुंदा राज्यलाई ठूलो मात्रामा कर गुमेको व्यवसायीले औंल्याए । व्यवसायीका माग सुनेपछि उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले ग्रील ग्राम स्थापनामा उपमहानगरपालिका सकारात्मक रहेको र थप अध्ययन गरी निर्णयमा पुग्ने बताए । विना दर्ता व्यवसाय चलाउनेलाई कारवाहीको दायरामा ल्याउन पनि उपमहानगरले कदम चाल्ने सुवेदीले बताए ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष दिलबहादुर रानाले ग्रील ग्रामको आवश्यकता र औचित्य लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । संघका अध्यक्ष तुलबहादुर सारुले व्यवसायीक एकता कायम गर्दै व्यवसायलाई मर्यादित बनाउन व्यवसायीलाई आग्रह गरे । संघका वरिष्ठ उपाध्यक्ष तुल्सी खनालको स्वागत मन्तब्य तथा महासचिव राम प्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघका संस्थापक अध्यक्ष अशोक कुमार बर्मा,निवर्तमान अध्यक्ष नारायण पाठक,पुर्व अध्यक्षहरु धर्म राज भण्डारी,सल्लाहकार लेखनाथ पौडेल,भुवन ज्ञवाली,श्याम के.सी.,प्रथम उपाध्यक्ष मोहन भट्टराई,द्वितीय उपाध्यक्ष श्याम के.सी. लगायतले आआफ्ना धारणा राखेका थिए । कार्यक्रममा वर्तमान अध्यक्ष तुलबहादुर सारुले संघको स्थापना काल २०६६ सालदेखि हालसम्मका पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।