सूचनाको हक कार्यान्वयनमा सहयोग गर्न आग्रह

बुलेटिन संवाददाता
१ फाल्गुन २०७६, बिहीबार २२:०६

पाल्पा ।
पाल्पाली सञ्चारकर्मीहरूले सरकारी निकाय र स्थानीय तहमा सूचना प्रवाहमा समस्या रहेकोले सूचनाको हक कार्यान्वयनमा सहयोग गर्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका छन् । डोटीबाट विभाग र विभागबाट पाल्पा सरुवा भइ आउनुभएका पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीसँगको भेटघाट कार्यक्रममा सञ्चारकर्मीहरूले सरकारी र स्थानीय निकायमा सूचना अधिकारी नतोक्ने समस्या रहेको र तोकिएका निकायबाट जोगिएर सूचना उपलब्ध गराउने समस्या भएकोले सूचनाको हक कार्यान्वयनमा समन्वयकारी भूमिका निर्वाह गर्न प्रजिअलाई सुझाएका हुन् ।

भेटघाटमा सञ्चारकर्मीहरूले बजार अनुगमन, सूचना अधिकारीहरूसँगको नियमित बैठक, मालपोत कार्यालयको सेवाप्रवाह, सरकारी सवारी साधनको दुरुपयोग न्यूनीकरण लगायत सुशासन र पारदर्शिताका लागि समन्वयकारी भूमिका खेल्न आग्रह गरेका थिए ।

पत्रकारहरूको जिज्ञासाको जवाप mदिदैं प्रमुख जिल्ला अधिकारीले जिल्लामा रहँदा आफु र मातहतका कार्यालयमा सुशासन र पारदर्शिता ल्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले जिल्लामा रहँदा पेशागत हितलाई ध्यानमा राखेर राजनीतिक गन्ध नआउनेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रजिअ सुवेदीले सुन्दर शान्त, पर्यटकीय जिल्ला पाल्पाको सांस्कृतिक पर्यटकीय साथै विविध सम्भावना पहिल्याई सेवा प्रवाहमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनअपेक्षाका अनुसारको प्रसासनिक सेवा सुधारका लागि कार्ययोजना बनाएर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।