मतदान प्रक्रियामा ‘नो भोटिङ’ आवश्यक छैन

बुलेटिन संवाददाता
१ फाल्गुन २०७६, बिहीबार १९:४९

पाल्पा १, फागुन
छलफल र सोधखोज जायज भएपनि लोकतान्त्रिक व्यवस्था भएको नेपालजस्तो मुलुकका लागि निर्वाचन प्रक्रियामा ‘नो भोटिङ’ प्रणाली समावेश गर्नु उपयुक्त नहुने एक कार्यक्रमका वक्ताले बताएका छन् । बुधबार बगनासकाली गाउँपालिकाको सहभाहलमा राजीतिक दल एवम् सरोकारवालाहरूबीचको अन्तरक्रिया कार्यमका वक्ताहरूले यस्तो बताएका हुन् । छलफलका सहभागीले ४० लाख बढी मतदाताहरू मुलुकबाहिर रहेकोले उनीहरूलाई निर्वाचन प्रक्रियामा सहभागी हुने बतावरण मिलाउन राज्यले चासो लिनुपर्ने धारणा राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय पाल्पाकी प्रमुख धर्मा अर्यालले निर्वाचन आयोगको काम कारवाही, निर्वाचन आचारसंहिता, निर्वाचन पछिका रणनीति, तालिम, समीक्षा, निर्वाचन चक्र अनुसारका कार्यसम्पादन प्रक्रिया, निर्वाचन आयोगका गतिविधि लगायतका विषयमा जानकारी दिनुभयो । उहाँले निर्वाचन आयोगको तेस्रो रणनीतिक योजना (२०७६–२०८१) को तयारी अन्र्तगत घुम्ती निर्वाचन शिक्षा, विद्यालयस्तरमा निर्वाचन शिक्षा कार्यक्रम, रेडियो निर्वाचन कार्यक्रम लगायतका कार्यक्रम भएको जानकारी गराउँदै सरोकारवालाहरूसँग निर्वाचन प्रणालीसम्बन्धमा सुझाव संकलन गर्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा निर्वाचन प्रक्रियामा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग, मतदान स्थलमै मतगणना तयारी, विदेशमा रहेका मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागिता गराउने प्रक्रिया, नो भोटिङ प्रणाली लगायतका विषयमा छलफल भएको थियो । बगनासकाली गाउँपालिकाका नेकपाका प्रमुख हरिप्रसाद पाठकले मतदान स्थलमै मतगणना गर्ने कार्य स्थानीय निकायका निर्वाचनका लागि सम्भव हुने भएपनि सुरक्षाको दृष्टिकोणले संघ तथा प्रदेस्तरको मतगणना मतदानस्थलमै गर्न चुनौतिपूर्ण हुने बताउनुभयो । बगनासकाली गाउँपालिकाका वडा नं. १ का वडा सदस्य कुलप्रसाद ढुंगनाले इलेक्ट्रोनिक भोटिङ मेसिनको विश्वसनियताको लागि नमुना मतदान प्रणाली आवश्यक हुने बताउनुभयो । बगनासकाली गाउँपालिका राप्रपा अध्यक्ष कपिल ढुंगानाले देशबाहिर रहेका मतदाताहरूलाई निर्वाचन प्रक्रियाबाट बञ्चित गर्न नहुने सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि ताराबहादुर सिंजालीले निर्वाचन आयोगबाट हुने आगामी निर्वाचनलाई प्रभावकारी बनाउन छलफल प्रभावकारी रहेको बताउनुभयो । अन्तरक्रिया कार्यक्रमकी अध्यक्ष गाउँपालिका उपप्रमुख सरस्वती दर्लामी चिदीले निर्वाचनको माहोल सेलाको बेलामा समेत सरोकारवालाहरूसँग जिल्ला निर्वाचन कार्यलय पाल्पाले छलफल चलाएकोमा धन्यवाद दिदै स्वच्छ, स्वतन्त्र र विश्वसनिय निर्वाचनका लागि छलफलले सहयोग पुग्ने बताउनुभयो ।