भोलिदेखी तिलोत्तमामा वडा कप फुटबल सुरु

बुलेटिन संवाददाता
२९ माघ २०७६, बुधबार १५:०३

बुटवल । तिलोत्तमा नगरमा विहिबारदेखि तिलोत्तमा अन्तर वडा कप फुटबल प्रतियोगिता २०७६ हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएको आयोजक तिलोत्तमा फुटबल एकेडेमीका अध्यक्ष तिलक नेपालीले बताए ।

दक्ष जनशक्ति उत्पादन गर्ने, फुटबलको बारेमा आभारभुत ज्ञान दिने लक्ष्यसहित आफुहरु लागेको उनले बताए । प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

विहिबार उद्घाटन खेल वडा नं २ र वडा न १३ का बिचमा हुने खेल संयोजक सुर्य चापागाईले बताए । प्रतियोगिताको उपाधिका लागि तिलोत्तमा नगरका १७ वटा टिम प्रतिस्पर्धा गर्ने उनले बताए । फागुन १ गतेदेखि १० गतेसम्म हुने प्रतियोगिताको आयोजना गर्न करीब ३ लाख खर्च हुने आयोजकको अनुमान छ ।

कार्यक्रममा क्लबका उपाध्यक्ष लाल प्रकाश थापामगर, सचिव युवराज पराजुलीले युवाहरुलाई खेलकुदमार्फत अगाडी बढाउने अभियानमा लागेको बताए । क्लबका बाबुराम पाण्डे, भुमि सापकोटाले प्रतियोगिताको पुरस्कार सौजन्य गरेका छन ।