पोखराथोक स्वास्थ्यचौकीमा पोषणसम्बन्धी अभिमुखीकरण

बुलेटिन संवाददाता
२७ माघ २०७६, सोमबार २२:०१

भोजराज भट्टराई,
पाल्पा २७, माघ
बगनासकाली गाउँपालिका–२, पोखराथोक स्वास्थ्य चौकीमा बस्तीस्तरीय पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भयो ।

पोखराथोक स्वास्थ्य चौकीले गर्भवति तथा सुत्केरी महिला र बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन गाउँपालिकाको वडा नं. २ भित्र रहेका सुनौला हजार दिनका गर्भवती महिला, परिवार र सरोकारवालाहरूलाई पोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

बगनासकाली गाउँपालिकाको बालमैत्री स्थानीय शासन कार्यक्रमबाट आर्थिक तथा प्राविधिक सहयोगमा भएको अभिमुखी करण कार्यक्रमका प्रमुख अतिथि बालमैत्री स्थानीय शासन कार्यक्रमका फोकल पर्सन मनोज आचार्यले बालमैत्री स्थानीय शासनमा पोषणको महत्व, बालअधिकार र बाल संरक्षण लगायतका विषयमा जानकारी दिनुभयो ।

अभिमुखी करण कार्यक्रममा स्वास्थ्य चौकीका इन्चार्ज सरोज काफ्लेले विशेषगरी घरमै उत्पादन भएका पोषणयुक्त खानाको अधिकतम प्रयोग गर्नतर्फ सुनौला हजार दिनका आमाहरूलाई अभिप्रेरित गर्नुभयो । उहाँले बच्चा गर्भमा रहेको दिनदेखि एक हजार दिन अर्थात् जन्मिएको दुई वर्षसम्ममा बच्चाको ८० प्रतिशत मष्तिष्कको विकास भइसक्ने भएकाले सुनौलो हजार दिनका बच्चाको वृद्धि विकासको लागि मातृशिशुको स्वास्थ्य र पोषणमा परिवारले ध्यान दिनुपर्ने बताउनुभयो । सन्तुलित भोजन सेवन गरेमा आमा र शिशु दुवै स्वस्थ रहने हुँदा प्रत्येक आमाहरूले के खाँदा फाइदाजनक हुन्छ भन्ने कुरामा सचेत हुन जरुरी रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष टेकनाथ शर्माले प्रत्येक व्यक्ति आफ्नो र परिवारको स्वास्थ्यप्रति सचेत रहनुपर्ने भन्दै विशेषगरी शिशुको स्वास्थ्यप्रति आमा मात्र नभई परिवारका हरेक सदस्यको उत्तीकै जिम्मेवारी हुने बताउनुभयो । जनता प्रा.वि.का प्रधानाध्यापक विश्वनाथ गैरेले बालबालिकाको शारीरिक र मानसिक वृद्धि विकासका लागि गर्भावस्थादेखि बच्चा जन्मिएपछि २ वर्षसम्म खानपानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा अन्य वक्ता र सहभागीहरूले हरेक व्यक्ति स्वस्थ र सक्षम बन्नका लागि सन्तुलित भोजन पहिलो आवश्यकता भएको बताएका थिए । सो अवसरमा कार्यक्रममा पोषिलो खानाको जानकारी, र वडाभित्र वसोबास गर्ने सुनौला हजार दिनका आमाहरूलाई अण्डासमेत वितरण गरिएको थियो ।

बगनासकाली गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष टेकनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पोखराथोक स्वास्थ्य चौकीका प्रमुख सरोज काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा वडा भित्रका गर्भवति, सुत्केरी आमा, महिला स्वास्थ्य स्वयंसेवीका, सहयोगी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रममा सामाजिक स्रोत विकास केन्द्र, नेपालको समन्वय र बगनासकाली गाउँपालिका बालमैत्री स्थानीय शासन कार्यक्रमको आर्थिक सहयोग रहेको थियो ।