एमसीसीको मुद्दालाई राष्ट्रहितमा हुने गरी अघि बढाइने प्रचण्डको भनाई

बुलेटिन संवाददाता
१० माघ २०७६, शुक्रबार १४:३८

चितवन । मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)लाई पास गर्दा राष्ट्रहितलाई सर्वोपरि राखेर अघि बढ्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।

शुक्रवार(आज) पूर्वी नवलपरासी (नवलपुर)मा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले एमसीसीका बारेमा केही समय अघि सकिएको नेकपाको स्थायी कमिटी बैठकमा पर्याप्त छलफल भएको बताए ।

उनले एमसीसीको मुद्दालाई राष्ट्रहितमा हुने गरी अघि बढाइने र जरुरी पर्दा अमेरिकासँग पुन सम्बाद गरेर अघि बढ्ने बताए ।

‘स्थायी समिति बैठकमा एमसीसीका बारेमा पर्याप्त छलफल गरेका छौं’ प्रचण्डले भने,‘ हामीले के भनेका छौं भने, यो एमसीसीको मुद्दा राष्ट्रिय हित हुने गरी जरुरी पर्दा अमेरिकासँग पुन सम्वाद गरेर सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्न उचित हुन्छ भन्ने स्प्रीटमा हामीले निर्णय गरेका छौं ।’

प्रचण्डले अगाडि थपे,‘ हामी सचिवालयमा यो विषयमा छलफल गरेर राष्ट्रहितलाई सर्वोपरि राखेर मात्रै हामी अगाडि बढाउँछौं ।’

उनले एमसीसी कार्यक्रम अफ्रिका र एशियाका विभिन्न देशहरुमा चलिरहेको बताउँदै एमसीसी अघि बढिरहेको बेलामा आएको इन्डो प्यासिफिक रणनीतिलाई अघि सारिएपछि विवादहरु देखिएको बताए ।

‘एमसीसी अगाडि जाँदै गर्दा अमेरिकाले दक्षिण एसियामा खासगरी इन्डो प्यासिफिक रणनीति भनेर अगाडि ल्याएपछि र त्यो सैन्य रणनीतिको रुपमा अगाडि बढाएपछि विवाद त्यहाँबाट शुरु भएको छ’ प्रचण्डले भने,‘ तर पछिल्लो पटक अमेरिकी दूतावासबाट १० बुँदे स्पष्टिकरण आएको छ । त्यसलाई पनि हामीले विचार गरेर नेपालको राष्ट्रिय हीतलाई ध्यानमा राखेर हामी निर्णय गर्छौं ।’

पछिल्लो समय नेकपामा विवाद रहेको बारेमा समाचारहरु आएको भन्दै त्यस्ता भ्रमपूर्ण कुराहरुको पछि नलाग्न कार्यकर्ताहरुमा आग्रह गरे । पार्टीका बारेमा सामाजिक सञ्जालमा विभिन्न खालका अफवाहाहरु फैलिएको भन्दै त्यसलाई विश्वास नगर्न प्रचण्डको आग्रह थियो ।

प्रचण्डले पार्टीमा कुनै समस्या नरहेको र एकतावद्ध रुपमा अघि बढिरहेको दाबी गरे ।