वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गादान

बुलेटिन संवाददाता
१० माघ २०७६, शुक्रबार ११:३७

बागलुङ । स्थानीयवासीले गलकोट नगरपालिका–६ को भवन निर्माणका लागि  एक रोपनी दुई आना जग्गा निःशुल्क सहयोग गरेका छन् ।

चरौँदीका मानकुमारी उप्रेती, टेकबहादुर उप्रती र तिलक उप्रेतीले करिब रु ५० लाख मूल्य बराबरको जग्गा प्रदान गरेको वडा कार्यालयले जनाएको छ ।

जग्गा प्राप्तिसँगै भवन निर्माणको काम तत्कालै अघि बढ्ने वडाध्यक्ष नरबहादुर खत्रीले जानकारी दिए । ‘जग्गाको नामसरी वडालाई आइसक्यो,’ उनले भने, ‘भवन निर्माणका लागि ठेक्काको प्रक्रिया पनि टुङ्गी सकेको छ ।’

वडाको भवन बनाउन चालू आवमा रु ८० लाख बजेट विनियोजन भएको छ । आफ्नै भवन नहुँदा वडा कार्यालय हाल भाडाको कोठाबाट सञ्चालित छ ।

जग्गादाताले दिएको एक रोपनी दुई आना र एक रोपनी सार्वजनिक जग्गामा भवन बन्ने जनाइएको छ । ‘वडा कार्यालयलाई जग्गा अभाव भएपछि हाम्रो परिवार मिलेर जग्गा दिने निर्णय गर्यौं,’ जग्गादाता तिलक उप्रेतीले भने ।

मापदण्ड अनुसारको व्यवस्थित र सुविधायुक्त वडा भवन बन्नुपर्नेमा स्थानीयवासीको जोड छ । यसअघि सोही ठाउँमा स्वास्थ्य चौकी भवनका लागि मानकुमारीले एक रोपनी जग्गा निःशुल्क प्रदान गरेकी थिइन् ।

थप जग्गा व्यवस्थापन गरेर स्वास्थ्य चौकी भवन निर्माणको काम अगाडि बढाउने वडाको योजना छ ।