आफुविरुद्ध धर्ना बस्नेलाई सापकोटाको जवाफ : सुनलाई आगोमा हालेपछि झन पहेँलो हुन्छ

बुलेटिन संवाददाता
९ माघ २०७६, बिहीबार १६:३३

सिन्धुपाल्चोक । आफुविरुद्ध धर्ना बस्नेलाई प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका नेकपा स्थायी कमिटी सदस्य अग्नि सापकोटाले जवाफ दिएका छन् ।

सिन्धुपाल्चोकको चौचारा साँगाचोकगढी नगरपालिका २ मा रहेको कालिकादेवी माध्यामिक विदालयको बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले नकरात्मक टिप्पणीले कुनै असर नगर्ने बताए ।

द्वन्द्वकालिन विषयमा आफुलाई जोडेर गरिएको नकरात्मक प्रचारले फाइदै पुगेको दावी गर्दै उनले भने, ‘सुन आगोमा हालेर तताउँदा हराउँदैन् । फेरि खारिन्छ । झन् झन् पहेँलो भएर निस्कछ ।’ आफुविरुद्ध भ्रमको खेती गर्नेहरुले टिप्पणी गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

देशको उच्च तहको नेतृत्व आफ्नो काँधमा आउन लागेको देखेर आफुविरुद्ध गलत टिप्पणी भएको र आफु संयमताका साथ अगाडि बढने उनले बताए । समृद्ध नेपाल सुखी नेपालीको अभियानमा आफुले हरेक ठाउँबाट योगदान दिने सापकोटाको भनाइ छ ।

आफूले कुनै पनि गल्ती नगरेको भन्दै उनले आशीर्वाद थाप्‍न आफु सिन्धुपाल्चोक आएको बताए । जीवनका अन्तिम घडीसम्म सिन्धुपाल्चोकको जनताको इज्जतलाई मर्न नदिने प्रतिवद्धता सापकोटाले जनाएका छन् ।