कर्णाली प्रदेशका पाँच जिल्ला ३ दिनदेखि सञ्चारविहीन

बुलेटिन संवाददाता
८ माघ २०७६, बुधबार १५:१६

सुर्खेत । कर्णाली प्रदेशका  कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला गरी पाँच जिल्ला तीन दिनदेखि सञ्चारविहीन भएका हुन् ।

नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले  कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि ती जिल्लामा सञ्चार सेवा बन्द भएको जानकारी दिए ।

‘मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको हो,’ प्रमुख खतिवडाले भने, ‘त्यसका लागि मङ्गलबार नै प्राविधिक टोली कालीकोट पठाइसकेका छौँ ।’

उनका अनुसार आजभोलि नै प्राविधिक टोलीले सञ्चार सेवा पुनःसञ्चालन गर्नेछ । सञ्चार सेवा बन्द भएका कारण त्यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको जनाइएको छ ।