सामान्य मनसुनमै सिरहा जिल्ला भरिका सडक हिलाम्मे

बुलेटिन संवाददाता
५ माघ २०७६, आईतवार १४:३०

लहान । जाडो बढेसँगै शीतलहरको कहर झेलिरहेको सिरहा जिल्ला भरिका अहिले अविरल मनसुनले हिलाम्मे बनेको छ ।

अविरल मनसुनले जनजीवन प्रभावित बनिरहँदा मनसुनकै कारण करोडौँ लगानी गरेर बनाइएका र जिर्णोद्वार गरिएका जिल्ला सिरहाका अधिकांश भित्री सडकहरू खाल्डाखुल्डीमा पानी भरिएर हिलाम्मे बन्दा ग्रामीणवासीलाई हिँडडुल गर्न समस्या भएको छ । मालबाहक सवारी साधनहरू हिलाम्मे बनेका सडकहरूमा गुड्न सकिरहेका छैनन् भने मोटरसाइकलमा ओहोरदोहोर गर्नसमेत कठिनाई हुने गरेको छ ।

स्थानीय तहको निर्वाचनपछि जिल्ला सिरहामा धमाधम ग्रामीण सडकहरू बन्न थाले । स्थानीय तहले उपभोक्ता समितिमार्फत बनाइएका कच्ची सडकहरू स्तरहीन हुँदा सामान्य मनसुनमा पनि हिलाम्मे बन्ने गर्छन् । अधिकांश सडकहरू ढलबिना नै बनाइँदा सडकमै पानी जमेर हिलाम्मे बन्दा आवतजावतमा समस्या पर्ने गरेको नेपाल कांग्रेस पार्टीका नेता सुनिल महतो बताउँछन् ।

सिरहाको लहान नगरपालिका–७ का महतो भन्छन्, ‘धेरै नाफा खाने परिपाटीले उपभोक्ता समितिमार्फत स्थानीय तहले बनाएका अधिकांश ग्रामीण सडकमा ढल नबनाइँदा सामान्य मनसुनमै हिलाम्मे बनेर कामै नलाग्ने अवस्थाका हुन्छन् ।

गत आवमा जिल्ला सिरहामा स्थानीय तहबीच ग्रामीण सडक बनाउने प्रतिष्पर्धा नै चलेको थियो । आव सकिन लाग्दा हतारमा बनाइएका अधिकांश ग्रामीण सडकहरू स्तरहीन बन्न पुगेको जानकारहरू बताउँछन् ।

ग्रामीण सडकको नाममा सिरहा जिल्ला भरिका स्थानीय तहले अर्ब बढी खर्चिएको अनुमान गर्छन् सिरहाका पूर्वाधार तथा विकास कार्यालयका डी। राजेशलाल कर्ण । सिरहाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूले पनि संसदीय कोषको धेरै पैसा सडक निर्माणमा खर्चिंदै आएका छन् ।

सिरहा जिल्लाका अधिकांश ग्रामीण सडक स्तरहीन बनेको स्वीकार्छन् जिल्ला समन्वय समिति सिरहाका उपसभापति सरोज यादव । उपसभापति यादवका अनुसार संविधानले जिल्ला समन्वय समितिलाई स्थानीय तहले गरेको विकास निर्माणको अनुगमन गर्ने अधिकार दिए पनि प्रदेश–२ सरकारले कानुन बनाउन नसक्दा जिल्ला समन्वय समितिले आधिकारिक रूपमा अनुगमन गर्न सकिरहेको छैन ।

उनी भन्छन्, ‘अन्य प्रदेशले कानुन बनाएर जिल्ला समन्वय समितिलाई अनुगमन गर्ने अधिकार दिए पनि प्रदेश–२ मा भने कानुन बन्न नसक्दा जिल्ला समन्वय समिति कामविहीन बन्न पुगेको छ ।’