गायिका राउतविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै प्रहरीद्वारा प्रशासनमा निवेदन

बुलेटिन संवाददाता
५ माघ २०७६, आईतवार ११:२४

काठमाडौं । गायिका आस्था राउतविरुद्ध प्रहरीले जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न माग गर्दै निवेदन दर्ता गरेको छ ।

महानगरीय परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले राउत विरुद्ध प्रशासनमा पक्राउ पूर्जी जारी गर्न माग गर्दै निवेदन दर्ता गरिएको खबरहबलाई जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पूर्जी जारी भएपछि गायिका राउतलाई आजै पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ ।

गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएकी थिइन् ।

गायिका राउतले विहीवार विमानस्थलमा आफूमाथि महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आक्रोश पोखेकी थिइन् । तर शुक्रवार सार्वजनिक भएको विमानस्थलको सीसीटीभी फुटेजपछि प्रहरी जवान श्रेष्ठले गायिका राउत विरुद्ध उजुरी दिएकी थिइन् ।

उनले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएसँगै विमानस्थल सुरक्षा कार्यालयले तालुकदार कार्यालयल महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा उजुरीसहितको कागजपत्र पठाएको थियो ।

रानीपोखरीले सीसीटीभीको प्रारम्भिक अनुसन्धान गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरी मुद्दा प्रकृया अघि बढाउन महानरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको थियो ।

महानगरिय प्रहरी परिसरका आयुक्त डीआइजी विश्वराज पोखरेलले आस्था राउत प्रकरणमा आवश्यक अनुसन्धान अघि बढाउन काठमाडौं परिसरलाई लेखि पठाइएको जानकारी दिएका थिए ।

महानरीय प्रहरी परिसर काठमाडौं श्रोतका अनुसार अनुसन्धान अघि बढाउनका लागि गायिका राउतलाई आज(आइतवार) नै नियन्त्रणमा लिने तयारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीले पक्राउ पूर्जी जारी गरेपछि राउतलाई आज नै पक्राउ गर्ने तयारी गरिएको प्रहरी श्रोतले जानकारी दियो ।

कार्यक्रमका लागि गायिका राउत भने भारतको सिक्किम पुगेकी छिन् । उनी आज नै नेपाल फर्कने कार्यक्रम रहेकोले उनलाई नियन्त्रणमा लिने तयारी प्रहरीको छ । खबरहबदेखि साभार