तिलोत्तमा ‘शुन्य पोलिथिन नगर’ घोषणा सस्तो लोकप्रियता होईन : मेयर घिमिरे

झविन्द्र देवकोटा
४ माघ २०७६, शनिबार १४:४३

 

शुन्य पोलिथिनयुक्त नगरपालिका घोषणाको तयारी कहाँसम्म पुर्याउनु भयो ?

हामी अन्तिम-अन्तिम तयारीमा छौं, घोषणाका लागि लगभग ६०/७० प्रतिशत काम भईसक्यो । ठुलादेखि साना पोलिथिनहरु संकलन गर्ने, थुपार्ने र त्यसलाई ब्यवस्थापन गर्ने कार्य तिब्र रुपमा भई रहेको छ । बालबालिका, युवा, बयस्क लगायत विद्यालय, संघसंस्था केन्द्रीत सचेतनामुलक कार्यक्रम निरन्तर चलि रहेका छन् । उठाएका प्लाष्टिकजन्य फोहरलाई ब्यवस्थापन गर्ने, नफाल्न र फ्याकिएका फोहरलाई उठाउन र नगर, वडा टोललाई सफा सुन्दर बनाउने खालका चेतनामुलक कार्यक्रम गरेका छौं ।

नगरबासिमा चेतनास्तर बढेको छ । नगरबासि उत्साहित हुनुहुन्छ । त्यहि उत्साहका कारण अब हामीले माघ महिनाभित्रै तिलोत्तमा नगरपालिकालाई शुन्य पोलिथिनयुक्त नगरपालिका घोषणा गर्ने तयारीमा जुटेका छौं ।

अनि यो शुन्य पोलिथिनयुक्त नगरपालिका बनेपछि के चाहि हुन्छ ?

त्यस्तो केही हुँदैन, नगरभित्रका कुनै स्थानमा प्लाष्टिकजन्य बस्तु/फोहर फेला नपरुन् भन्ने नै हो । फोहरका रुपमा प्लाष्टिकजन्य बस्तुहरु नगरभित्र यसै फालिएको हुने छैन । फाल्नका लागि डष्टवीनको उचित ब्यवस्थापन भएको हुन्छ । त्यहिनै प्लाष्टिकजन्य फोहर फालिएको राखिएको हुने छ । नगरका १७ सबैवडामा त्यस्तो ब्यवस्था हुन्छ । त्यहाँका सबैवडा समितिहरु तथा टोल विकास संस्थाहरु सो कार्यका लागि प्रतिवद्ध हुने छन् । नगरबासि पनि जवाफदेही बन्ने छन् । तर प्लाष्टिकजन्य बस्तु (पोलिथिन ) को प्रयोगनै गर्न पाइदैन भन्ने चाहि होईन । प्रयोग गर्न पाईन्छ र जहाँ पायो त्यही फ्याक्न पाईदैन । पाइएको खण्डमा नगरपालिकाले बनाएको मापदण्ड अनुसारको कार्वाही हुन्छ ।

यो अभियानलाई वडा र टोल विकास संस्थाले खासमा कसरी सघाउँछन् ?

म आफै शुन्य पोलिथिन अभियानमा सक्रियपुर्वक दिनरात गरि लागि रहेको छु । नगरपालिका मार्फत वडा र टोल विकास संस्थाहरुलाई आम नागरिकलाई सचेत पार्नुपर्छ भनेर आग्रह गरेका छौं । त्यति मात्र होईन उहाँहरु अझै पनि खटिनु भएको छ । नगरभित्र १ सय ९० टोलविकास संस्थाहरु छन् । हामीहरुले नगरलाई शुन्य पोलिथिन मात्र हाईन, सुन्दर र सफा नगर बनाउनका लागि टोलविकास संस्थाहरुबीचमा प्रतिस्प्रधा गराउने छौं । जुन टोल अत्याधिक सुन्दर र सफा हुने छ, टोल सफा राख्ने टोल विकास संस्था र ब्यक्तिलाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रम नै ल्याएका छौं । प्रत्यक तीन/तीन महिनामा सफा सुन्दर हुने टोल पुरस्कृत हुने भएपछि उहाँहरुको काम र प्रस्तुती त्यहि अनुसार हुने छ ।

त्यसो भए, शुन्य पोलिथिन नगर घोषणाका आधारहरु के–के हुन् त ?

तिलोत्तमा नगरबासी नै यो अभियान सफल बनाउने बलियो आधार हुनुहुन्छ । उहाँहरु बिना यो अभियान सफल हुनै सक्दैन । दैनिक ५÷७ सय स्थानीय बासिन्दा प्लाष्टिकजन्य फोहर ब्यवस्थापनमा लागि रहनु भएको छ । यो नै हाम्रो मजबुद आधार हो । जब स्थानीय नागरिक फोहर ब्यवस्थापनमा जुट्नुहुन्छ तब हामीले अभियान सफल भएको मान्दछौं । बालबालिकादेखि वृद्धसम्म उमेरका सबै अहिले शुन्य पोलिथिन नगर बनाउने अभियानमा आफै सक्रिय भएर लाग्नु भएको छ । यो चेनतामा अब ब्रेक लाग्दैन । हामी सफल हुने यस्ता प्रशस्त आधारहरु छन् ।

शुन्य पोलिथिनयुक्त नगरपालिका घोषणा त होला, त्यसको ब्यवस्थापनमा पनि त चुनौती छ नी ?

हो, ब्यवस्थापनमा चुनौती छ । ब्यवस्थापनमा लागि हामी निकै नै गम्भिर छौं । तिलोत्तमाको वडानम्बर ८ मा फोहर ब्यवस्थापनकै लागि वास सहकारी संस्था मार्फत एउटा केन्द्र स्थापना गरिएको छ । त्यहा कुहिने, नकुहिने, प्लाष्टिकजन्य र अन्य सिसाजन्य फोहरहरु संकलन गर्ने, संकलन भएको फोहर मध्य विक्रि हुने विक्रि गर्न, नमिल्नेको ब्यवस्थापन र प्रशोधन गर्न मिल्नेलाई प्रशोधन गर्ने तथा अन्यलाई मलका रुपमा प्रयोग गर्ने गरि त्यहाँ केन्द्र स्थापना भएको छ । ब्यवस्थापनका लागि हामीले दीर्गकालिन योजना पनि बनाउँदै छौं । चुनौति छ, त्यसलाई पनि ब्यवस्थापननै गर्ने हो ।

शुन्य पोलिथिन अभियानको निरन्तरता सजिलो त छैन ? सस्तो लोकप्रियता त बन्दैन कतै ?

हामीले यो अभियानलाई सस्तो लोकप्रियतामा सिमित हुन दिदैनौ । त्यसैले पनि हामीले विभिन्न गैसससँग सहकार्य गरेर काम गरेका छौं । सिम नेपालले अहिले हामीसँग सहकार्य गरेर शुन्य पोलिथिन नगर बनाउन धेरै सक्रियता देखाएको छ । उसले दैनिक ८०-९० जना स्वयम्सेवक नगरका विभिन्न स्थानमा परिचालन गरेर सो अभियान सफल बनाउने क्रममा छ भने हामीले वडा र टोललाई जवाफदेही बनाउदै छौं । जसरी सिमले बढो सक्रियतापुर्वक काम गरेर हामीलाई शुन्य पोलिथिन नगरबनाउन हौस्याएको छ, हामी पनि यो अभियानलाई सस्तो लोकप्रियता नबनाउन दिलोज्यान दिएर लागेका छौं । यो अभियानलाई कुनै सर्तमा तुहिन दिदैनौ ।

अनि माथी (बुटवल उपमहानगरपालिका) हुँदै १६/३६ नहरमा बगेर तिलोत्तमा प्रवेश गर्ने प्लाष्टिकजन्य, सिसाजन्य र अस्पतालजन्य फोहरलाई कसरी रोक्नुहुन्छ ? यो सम्भव छ त ?

हामीले धेरै पटक औपचारिक, अनौपचारीक रुपमा बुटवल उपमहानगरपालिकालाई अनुरोध गरेकाछौकी तपाईहरुले तिलोत्तमामा फोहर आउन नदिनुस भनेर । बुटवलका नगरप्रमुख, प्रशासकीय अधिकृत र सरोकारवाला सबैलाई भनेका छौ ।

हो अन्य समयमा कम आएतापनि वर्षातमा धेरैनै समस्या छ । रोक्नका लागि हामीले नहरमा जाली पनि लगाएका छौं । तर माथीबाट आउने फोहर तपाईले भने झै रोकिएकै छैन । हामी आग्रह गरिरहेका छौं । नहरमा फोहर बग्ने क्रम रोकिएकै छैन । नहरका माध्यमले किसानका खेतमा जाने, उत्पादन घटाउने, पर्यावरणीय असर गर्ने तथा अस्पतालजन्य फोहरले किसानलाई विभिन्न संक्रमण हुने भएको छ । अब बुटवल उपमहानगरपालिकाले नहरमा फोहर बग्न रोक्नुपर्छ । हामीले मन्त्रालयहरुमा पनि कुरा गरिसकेका छौ ।

नहरका माध्यमले तिलोत्तमा आउने प्लाष्टिकजन्य, सिसाजन्य, अस्पतालजन्य, उद्योगजन्य कुनैपनि बस्तु/पदार्थ बुटवलबाट छोड्न पाईदैन । तिलोत्तमालाई सुफा, सुन्दर र शुन्य पोलिथिन नगर बनाउने कुरामा कुनै पनि अवरोध बुटवलबाट हुनु हुदैन । हामी सहकार्य गरेर बुटवललाई पनि शुन्य पोलिथिन नगर बनाउनुपर्छ भन्ने चाहनामा छौं ।

शुन्य पोलिथिन अभियानमा ब्यवस्थापकीय समस्या देखिन्छ, भन्छन् सरोकारवाला

रुपन्देहीको तिलोत्तमा नगरपालिका माघ महिनाभित्र शुन्य पोलिथिन नगरपालिका बन्ने तयारीमा छ । प्लाष्टिकजन्य पदार्थलाई प्रयोगमा रोक लगाई सकेको नगरपालिकाले माघमा विशेष कार्यक्रम गरेर शुन्य पोलिथिनयुक्त नगरपालिका घोषणाको तयारी थालेको हो । सम्भव भएमा तिलोत्तमा नगरपालिका माघको २० गतेभित्र शुन्य पोलिथिन नगर घोषणा हुदैँछ । घोषणापछि नगरपालिका क्षेत्रभित्र प्लाष्टिकजन्य बस्तु फाल्न नपाईने र फालेको फेला परेमा नगरपालिकाले कार्वाही गर्ने समेत भनेको छ । त्यसो त फोहर ब्यवस्थापनका लागि विभिन्न स्थानमा डष्टविनहरु राख्न थालेको छ । नगरलाई सफा, सुन्दर र प्रयावरणमैत्री/हरियालीमय बनाउनका लागि शुन्य पोलिथिनयुक्त नगरपालिका अभियानलाई सक्रिय रुपमा अगाडि सारिएको छ ।

नगरपालिकाको करहिया सामुदायिक बनको क्षेत्रको करिव दुई विगाहा क्षेत्रफलमा वास सहकारी संस्था मार्फत फोहर ब्यवस्थापनको प्लान्ट (केन्द्र) बनाइएको छ । तिलोत्तमा–८ मा पर्ने त्यहाँ फोहरलाई मोहरका रुपमा परिणत गर्ने योजना छ । त्यहा कुहिने, नकुहिने, प्लाष्टिकजन्य र अन्य सिसाजन्य फोहरहरु संकलन गर्ने, संकलन भएको फोहर मध्य विक्रि हुनेलाई विक्रि गर्न, नमिल्नेको ब्यवस्थापन र प्रशोधन गर्न मिल्नेलाई प्रशोधन गर्ने तथा अन्यलाई मलका रुपमा प्रयोग गर्ने गरि त्यहाँ केन्द्र स्थापना गरिएको छ । सँगै घोषणापछि नगरपालिका क्षेत्रभित्र प्लाष्टिकजन्य बस्तु फाल्न नपाईने र फालेको फेला परेमा नगरपालिकाले कार्वाही गर्ने समेत भनेको छ । तथापि घोषणा गर्नु पहिले ब्यवस्थापन र निरन्तरतामा कमि आउने हो कि भन्ने विषयमा स्थानीयले चिन्ता गर्न थालेका छन् भने घोषणापछी ब्यवस्थापकीय समस्या आउने होकी भन्नेतर्फ पनि स्थानीयको चासो बढेको छ ।

ब्यवस्थापन नै ठुलो चुनौती : वातावरणविद् युवराज कंडेल

एकतर्फ अभियाननै चलि रहेका वेला तिलोत्तमा–८ का बासिन्दा तथा वातावरणविद् युवराज कंडेलले प्लाष्टिकजन्य पदार्थ फाल्न रोक लगाएर मात्र हुँदैन, ब्यवस्थापनमै ठुलो चुनौती भएको बताउनुहुन्छ । । उहाँले तयारी विना घोषणा गर्नु सफल हुन्नकी भन्ने तर्क राख्नुहुन्छ । उहाँभन्नुहुन्छ–‘तिलोत्तमा नगरपालिकाले २०७६ बैशाखमा प्लाष्टिक निषेधित नगर भनेर घोषणा गरिएको थियो तर प्रयोगमा नियन्त्रण भएको छैन ।’ ‘अहिले पनि कुला र खोल्सामा प्लाष्टिकजन्य बस्तुहरु देखिन्छन् । तिनलाई संकलन गर्नु र सहि ब्यवस्थापन गर्नु मुख्य चुनौती हो,–उहाँले भन्नुभयो । स्थानीय तह, टोल, विद्यालयमा चेतनाको विकाससँगै संकलनमा निरन्तरता र संकलन भएकालाई कहाँ लगेर ब्यवस्थापन गर्ने त्यसतर्फ नगरपालिकाको ठोस योजना आवश्यक छ । शुन्य पोलिथिन नगर घोषणा भनेको पोलिथिन प्रयोगमा रोक लगाउनु मात्र होईन भन्दै कंडेलले जहाँपायो त्यही नफ्याक्ने र फ्याकिएकालाई कुशलतापुर्वक ब्यवस्थापन गर्नु बताउनुहुन्छ । पुर्व तयारी विना घोषणाको कुरा गर्नु भएन, प्लाष्टिक निषेधित क्षेत्र जस्तो बनाइयो भने नगरपालिकाका लागि घाटा हुने उहाँको सुझाव छ ।

 

 

थुप्रो संख्यामा स्वयम् सेवक परिचालन : अध्यक्ष निपेश ढाका
अहिले तिलोत्तमा नगरपालिका र सिन नेपालको सहकार्यमा नगरलाई शुन्य पोलिथिनयुक्त नगर घोषणाको तयारी तिब्र छ । सिनका अध्यक्ष निपेश ढाकाले थुप्रो संख्यामा स्वयम् सेवक परिचालन गरेर नगरलाई शुन्य पोलिथिन नगर घोषणाको तयारीमा लाग्नु भएको छ । उहाँभन्नुहुन्छ–‘स्थानीयले टोलबाट हामीलाई फोहर उठाउनुस् भनेर बारम्बार फोन गर्नुहुन्छ ।

यसले हामीलाई चिन्तित बनाएको छ । यो टोलमा पोलिथिन ब्यवस्थापनको चुनौति हो ।’ सिन नेपालले नगरबासीलाई माटोको महत्व, पर्यावरणीय संरक्षण, पोलिथिनजन्य पदार्थको संकलन र ब्यवस्थापन गर्ने बारे सिकाई रहेको ढाकाले बताउनुभयो । उहाँले आम नागरिकलाई सुन्दर र स्वच्छ नगर बनाउने कुरामा दायित्व बोध गराउने दिशातर्फ आफुहरु लागेको सुनाउनुभयो । नगरपालिकाले ब्यवस्थापनमा अझैबढी महत्व दिएमा घोषणाले निरन्तरता पाउने सुझाव दिनुहुन्छ ।

 

अभियानलाई टिकाए तिलोत्तमा नमुना बन्छ : प्राचार्य कृष्णप्रसाद पन्थी

शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयका प्राचार्य कृष्णप्रसाद पन्थीले पर्यावरणीय हिसावले तिलोत्तमा नगरपालिकालाई शुन्य पोलिथिन नगर घोषणा प्रशंसनीय कार्य भएको बताउनुहुन्छ । सबैभन्दा ठुलो चुनौती अभियानलाई टिकाउनुनै हो । नगरपालिकाले अभियानलाई टिकाएमा तिलोत्तमा नुमना नगरपालिकाका रुपमा परिचित हुन्छ ।

समस्या ब्यवस्थापनको आउन सक्छ भन्दै पन्थीले अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहने र त्यसमा नगरपालिकाले प्रभावकारी समन्वय गर्न आवश्यक रहेको सुझाव दिनुहुन्छ । उहाँले शुन्य पोलिथिन भनेको प्लाष्टिक प्रयोगनै नगर्ने भन्ने चाही होईन, बस प्रयोग भएका प्लाष्टिकलाई जहाँपायो त्यही नफाल्ने र तोकिएकै स्थानमा ब्यवस्थापन गर्ने हो भन्ने चेतनाको विकास सबैमा भएमा अभियान सफल हुने सुझाव दिनुहुन्छ ।

 

बुटवल भएर बग्ने नहरले ल्याउछ समस्या : उपाध्यक्ष धुर्व धिताल

बुटवलबाट १६/३६ नहर भएर तिलोत्तमा भित्रिने प्लाष्टिकजन्य बस्तुको ब्यवस्थापनमा चुनौती छ भन्नुहुन्छ –१६/३६ संयुक्त सिचाई प्रणाली तिलोत्तमा रुपन्देहीका उपाध्यक्ष धुर्व धिताल । उहाँले शुन्य पोलिथिन अभियानमा ठुलो चुनौति भनेको १६/३६ नहरमा बुटवल भएर बग्ने फोहरनै भएको बताउहुन्छ । ‘यसले ठुलो समस्या ल्याएको छ । हामीले बारम्बार अनुरोध गरेकै छौं तर नहरमा पानी वग्दा प्लाष्टिकजन्य बस्तु धेरै बग्ने गरेका छन् । यसलाई रोक्न सकियो भने शुन्य पोलिथिन अभियानले सार्थकता पाउने कुरामा ढुक्क भईन्छ’– उहाँको भनाई छ । उहाँले सबैभन्दा पहिले नगरबासिको स्वभावमा परिवर्तन ल्याउनु पर्ने भन्दै घरघरमा अहिले जागेको चेतनालाई निरन्तर बढाउने योजना तथा कार्यक्रम प्रति नगरपालिका गम्भिर बन्नु पर्ने सुझाव राख्नुहुन्छ ।

 

शुन्य पोलिथिन नगर घोषणा गर्न बुटवलको पुर्ण सहयोग रहन्छ : मेयर शिवराज सुवेदी

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले नहरमा फोहर फ्याक्नै नपाईने गरि फोहर ब्यवस्थापन ऐन बनेको बताउनुहुन्छ । उहाँले नहरमा फोहर फ्याकेमा ऐन अनुसारको दण्डजरिवाना हुने भन्दै नफ्याक्न वडासमिति र टोल संस्था मार्फत नगरबासिलाई अनुरोध गरिएको बताउनुहुन्छ ।

उहाँले तिलोत्तमालाई शुन्य पोलिथिन नगर घोषणा गर्न बुटवलको पुर्ण सहयोग र समर्थन हुने उल्लेख गर्दै बुटवल पनि सोही अभियानमा रहेको बताउनुभयो । नहरमा फोहर/प्लाष्टिकजन्य बस्तु फ्याक्ने, ढल मिसाउन रोक लगाइएको स्मरण गर्दै गरेको पाईएमा कानुन बमोजिम कार्वाही गरिने समेत बताउनुहुन्छ ।