जाडोमा तुलसी सेवन गर्नुका फाइदाहरु

बुलेटिन संवाददाता
३ माघ २०७६, शुक्रबार १६:०५

तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने कफ निकाल्छ । छातीको दुखाइ पनि कम गर्छ । तुलसीको अद्भूत क्षमताले स्वास प्रणालीको झिल्लीमा पनि सकारात्मक प्रभाव पार्दछ ।

निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चा पानीमा घोलेर केही दिन पिउँदा ज्वरो निको पार्दछ ।

अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिच र सुख्खा अदुवाको सूठो मिसाउनुपर्छ । अब यो मिश्रणलाई तातो पानीमा उमालेपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ । त्यसमा एक सय ग्राम जति सख्खर हालेर सेवन गरेमा यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्याबाट मुक्ति दिलाउँछ ।

तुलसीलाई दुधसँग मिसाएर सेवन गर्दा थप लाभ गर्छ । यस्तो मिश्रण खाली पेटमा सेवन गर्दा प्रभावकारी हुन्छ । यदि कसैलाई दम वा श्वासप्रश्वास सम्बन्धी समस्या छ भने दुध र तुलसी सेवन गर्नुपर्छ । बिहान खाली पेटमा नियमित दुध र तुलसी सेवन गर्दा फाइदा हुन्छ ।

टाउको दुख्ने समस्या छ भने पनि तुलसीको पात र दुधको मिश्रण उपयोगी हुन्छ । यसले हरेक उमेरका व्यक्तिलाई मद्दत गर्छ । माइग्रेन जस्तो समस्यामा पनि यो उत्तिकै लाभदायक हुन्छ । यसैगरी, मुटुसम्बन्धी समस्या हुने व्यक्तिले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नुपर्छ ।

यस किसिमको पेयले स्नायु प्रणालीलाई आनन्दित तुल्याउँछ जसले तनावको स्तर कम गर्छ । डिप्रेसन वा चिन्ताको अवस्थामा तुलसी र दुधको मिश्रण एकदमै प्रभावकारी औषधी हो ।