भ्रष्टाचारजस्ता अनियमितताको पहिचान गर्न एमसिएका कर्मचारीलाई भ्रष्टाचारविरुद्ध प्रशिक्षण

बुलेटिन संवाददाता
३ माघ २०७६, शुक्रबार १५:४०

काठमाडौं । अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बाट प्राप्त अनुदान कार्यन्वयनका क्रममा हुन भ्रष्टाचारजस्ता अनियमितताको पहिचान गर्न मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए, नेपाल) का कर्मचारीहरूलाई प्रशिक्षण दिइएको छ ।

एमसीसीबाट प्राप्त अनुदान सहायताको कार्यान्वयनका क्रममा जालसाजी तथा भ्रष्टाचार हुन नदिन सम्बन्धित जोखिम पहिचान, रोकथाम तथा समाधानसम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गर्न एमसिसी नेपालका कर्मचारीहरुलाई माघ १ देखि ३ गतेसम्म दिइएको प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणको पहिलो दिन नेपालका लागि अमेरिकी राजदुत र्‍याण्डी बेरीले नेपालमा भ्रष्टाचार कम हुँदै गएको उल्लेख गर्दै यस दिशामा प्राप्त सफलताले नेपाललाई एमसिसी कम्प्याक्टका लागि योग्य बनाउनमा एक सूचकका रूपमा काम गरेको बताए । उनले अमेरिकी सहयोगअन्तर्गत कार्यान्वयन हुने क्रममा रहेका आयोजनाहरू भ्रष्टाचारमुक्त वातावरणमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।

अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपाल सरकार सुशासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै देशमा आर्थिक वृद्धि सुनिश्चितगर्नका लागि भ्रष्टाचारमुक्त कार्य वातावरण महत्वपूर्ण भएकोमा जोड दिए ।

एमसिसीका वरिष्ठ भ्रष्टाचार नियन्त्रण सल्लाहकार रिचार्ड मेस्सिकले एमसिसीको जालसाजी तथा भ्रष्टाचार नियन्त्रण नीतिबारे जानकारी दिएका थिए ।

नेपाल कम्प्याक्ट नेपाल सरकारका जालसाजी तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था अनुरूप कार्यान्वयन हुनेछ भने यसले एमसिसीको जालसाजी तथा भ्रष्टाचार रोकथाम, पहिचान तथा समाधानसम्बन्धी नीतिलाई पनि पालना गर्नेछ ।

सन् २०१७ को सेप्टेम्बरमा नेपाल सरकार तथा अमेरिकी सरकारको एमसिसीबीच यस अनुदान सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो । यस सम्झौताको उद्देश्य विद्युत्को उपलब्धता र भरपर्दाेपनामा वृद्धि गर्ने, सडक सञ्जालको गुणस्तरमा सुधार गर्ने तथा नेपाल तथा भारतबीचको ऊर्जा व्यापारलाई सहजीकरण गर्दै नेपाली जनता लाभान्वित हुने गरी लगानीका लागि प्रोत्साहित गर्नुका साथै आर्थिक वृद्धिलाई तीव्रता दिनमा सहयोग पु¥याउने रहेको छ ।