प्रवासबाट आर्जित सीप स्वदेशमा लगानी गर्न आग्रह

बुलेटिन संवाददाता
२६ पुष २०७६, शनिबार १८:२४

भोजराज भट्टराई,
२६ पौष, पाल्पा ।
प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वदेशको लागि लगानी गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् । वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीहरूको संस्था रिटर्नी माइग्रेट नेपालको शनिबार तानसेनमा आयोजित प्रथम पाल्पा जिल्ला सम्मेलनका वक्ताहरूले देशको समृद्धिको लागि युवाहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउनतर्फ यस्ता संस्थाहरू सक्रियताका साथ लाग्नुपर्ने बताएका हुन् ।

तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले युवाहरूले स्वदेशममा श्रम गर्ने बानी बसाल्ने हो भने रोजगार लगायत शिक्षाका बहानामा युवाहरूले विदेश ताक्नुपर्ने स्थितिमा कमी आउने औंल्याए । उनले विदेशबाट फर्केका युवाहरूलाई समाजमा कहीं न कहीं उद्यमशिलतामा जोडिएर अगाडि बढ्नको लागि नगरसरकारले युवा स्वरोजगारको माध्यमबाट सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा रिटर्नीका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीले वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई आय आर्जन वा आर्थिक उपार्जनमा जोडिनको लागि रिटर्नी नेपालले समन्वयात्मक भूमिका निर्वाह गर्ने जनाए । उनले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूको हितमा काम गर्ने गरी देश व्यापीरूपमा संगठित भई रिटर्नीले काम गर्ने प्रतिबद्धता जनाए । प्रदेश नं. ५ का महासचिव प्रकाश पौड्यालले कार्यक्रमको उद्देश्यबारे बोलेका थिए ।

सम्मेलनमा शुभकामना मन्तव्य राख्दै नेकपाका नेता धनेन्द्रराज घिमिरे, कमल पाण्डे, राप्रपाका केन्द्रीय सदस्य डुलबहादुर कुँवर, जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, रिटर्नी प्रदेश नं. ५ का अध्यक्ष कृष्ण भुसाल, पत्रकार मिलन वि.क. लगायतले वैदेशिक रोजगारबाट नेपाल फर्केका युवाहरूको चासो सम्बोधन गरेर अगाडि बढ्न आग्रह गरे । जिल्ला संयोजक रुक्मागत बस्यालको अध्यक्षतामा भएको सम्मेलनमा स्वागत तदर्थ समितिका उपाध्यक्ष शोभाखर भट्टराई र सञ्चालन सचिव मुरारीप्रसाद पौड्यालले गरेका थिए । तानसेन नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका दुई सय बढी व्यक्तिहरूको सहभागिता थियो ।

यसैबीच सम्मेलनले रुक्मागत बस्यालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शोभाकान्त पाठक सचिवमा मुरारीप्रसाद पौड्याल सर्वसम्मत निर्वाचित भएका छन् । यस्तैगरी समितिको सह सचिव भोजराज देवकोटा, कोषाध्यक्ष राजेन्द्र भण्डारी रहेका छन् । नवनिर्वाचित उपाध्यक्ष शोभाकान्त पाठकले दिएको जानकारी अनुसार नवनिर्वाचित समितिको सदस्यहरुमा बेदप्रसाद पाण्डे, मेघनाथ भण्डारी, गणेशप्रसाद भट्टराई, शोभाखर बस्याल, दीनानाथ बस्याल, हरिप्रसाद आचार्य, राजेश गैरे, जीतबहादुर सिंजाली सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै लगानी बोर्ड र सल्लाकार संयोजकमा शोभाखर भट्टराई चयन भएका छन् । टिकाराम बस्याल र धनिश्वर बस्याल सस्लाहकार सदस्यमा चयन भएका छन् ।