अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२०को भव्य उद्घाटन

बुलेटिन संवाददाता
२२ पुष २०७६, मंगलवार १४:०३

काठमाडौं । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा नेपाल भ्रमण वर्ष २०२०को  शुभारम्भ गरेका छन् । कार्यक्रममा एनआरएनए, तथा विभिन्न संघ संथाको समेत सहभागिता थियो ।

कार्यक्रममा अस्ट्रेलियामा बस्दै आएका नेपालीहरुको समेत उल्लेख्य सहभागिता थियो । सहभागी नेपालीहरु मौलिक भेषभुषामा प्रस्तुत भएका थिए ।

अस्ट्रेलियाको न्यू स्टेटका सभामुखसहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भ्रमण वर्षको उद्घाटन गरिएको हो । कार्यक्रममा उनीहरुले पनि आफ्नो मन्तव्य राखेका थिए ।

पर्यटनमन्त्री भट्टराईले मौन जुलुसमार्फत पर्यटन बर्षको प्रबर्द्धन गरिएको जानकारी दिए ।

त्यसक्रममा नेपालीहरुले अस्ट्रेलियाको डढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रुपमा चन्दा बाल्टिनहरु बोकेका थिए । केहीले जिवजन्तुहरुका लागि सहयोग संकलन गरेका थिए ।

पर्यटनमन्त्री भट्टराईले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको बताए ।