लुम्बिनी वाणिज्य क्याम्पसमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

मोहन पौडेल
१८ मंसिर २०७६, बुधबार १८:१३

बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्वागत तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ । विविएम तेस्रो, पाचौ तथा सातौ सेमेस्टर लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा विविएम प्रथम सेमेष्टरमा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा विविएम आठौ सेमेष्टरको परीक्षा दिएका विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल पाण्डेले क्याम्पसको शैक्षिक गुणस्तरका लागि क्याम्पसले हरेक प्रकारका कार्यक्रमहरु संचालन गररिरहेको र विद्यार्थीहरुकै शैक्षिक तथा अतिरिक्त क्रियाकलापप्रतिको कडा मिहिनेत र लगनशीलताले पनि क्याम्पस यो अवस्थामा पुगेकोले सम्पूर्ण विद्यार्थीहरुप्रती आभार प्रकट गरे ।

विशिष्ट अतिथि एवं क्याम्पस प्रमुख प्राध्यापक डा. तारा प्रसाद उपाध्यायले विद्यार्थीहरुको आयोजनामा भएका यस्ता गतिविधिहरुले क्याम्पसको उचाइमा इटा थप्ने काम गरिरहेकोले नवआगन्तुक विद्यार्थीहरुले विविएम कार्यक्रम र क्याम्पसको गरिमा अझै बढाउन सफल हुने विश्वास व्यक्त गर्दै विविएम आठौ सेमेष्टरका विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं विविएम कार्यक्रम इन्चार्ज मधुकर शर्माले शुभकामना मन्तव्य राख्दै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा विविएम आठौ सेमेष्टरका विद्यार्थीहरुलाई सम्मान प्रकट गरे । साथै उनले क्याम्पसले विद्यार्थीहरुको हरेक रचनात्मक गतिविधिलाई सम्मान गर्ने भएकोले यसप्रकारको कार्यक्रम आयोजना गरेकोमा विद्यार्थीप्रती धन्यवाद ज्ञापन गरे ।

विविएम सातौ सेमेष्टरका नरेश रानाको स्वागत मन्तव्य रहेको कार्यक्रममा नवआगंतुक विद्यार्थी विविएम प्रथम सेमेष्टरका प्रवेश न्यौपानेले नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पसमा पढ्न पाउनु आफ्नो लागि सुनौलो अवसर रहेको बताए । विविएम आठौ सेमेष्टरका अशोक गौतमले क्याम्पसले सिकाएको ज्ञान र सस्कारले जहाँ गएपनी पछाडि फर्केर हेर्नू नपर्ने र क्याम्पसमा सिकेको व्यवहारिक ज्ञानकै कारण आफुहरु बजारमा सफल हुने विश्वास व्यक्त गरे ।

विविएम सातौ सेमेष्टरका सन्जय ज्ञवालीले विद्यार्थी जानू र आउनु एउटा सामान्य प्रक्रिया भएपनी लुम्बिनी वाणिज्य क्याम्पसको नामसित जोडिन पाउनु गर्वको विषय रहेको बताए ।

विविएम तेस्रो सेमेस्टरका विद्यार्थी मनिस पन्थको सभापतित्वमा भएको औपचारिक कार्यक्रमको सञ्चालन प्रकाश पौडेल र प्रतिमा घिमिरेले गरेका थिए भने दिनभर क्याम्पसमा भएको सास्कृतिक कार्यक्रम तथा अनौपचारिक कार्यक्रमको संचालन दिलिप पाण्डे र रोशनी थापाले गरेका थिए । सो अवसरमा मिस फ्रेसर र मिस्टर फ्रेसरको उपाधी सन्जना श्रेष्ठ र मोहन थापालाई प्रतियोगिता मार्फत घोषणा समेत गरिएको थियो ।

कार्यक्रममा क्याम्पसमा आयोजित विभिन्न खेलकुदका विजयीहरुलाई पुरस्कार वितरण गरिनुका साथै नवआगन्तुक विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्दै स्वागत गरिएको थियो भने विविएम आठौं सेमेष्टरका विद्यार्थीहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।