सुदूरपश्चिममा जलविद्युतको सम्भावना धेरै, उत्पादन कम

महेन्द्रनगर । सुदूरपश्चिम सबैभन्दा बढी जलविद्युत उत्पादन क्षमता भएको प्रदेश हो । सुदूरपश्चिम प्रदेशमा मुलकभरिको कुल जलविद्युत उत्पादनको २२ प्रतिशत उत्पादन क्षमता छ ।
यहाँ १८ हजार १ सय ४९ मेगावाट जलविद्युत उत्पादन गर्न सकिन्छ । तर, सुदूरपश्चिम प्रदेशमा हालसम्म ४२.८ मेगावाट मात्रै जलविद्युत उत्पादन भएको छ ।
सुदूरपश्चिममा जलविद्युत उत्पादन क्षमता धेरै भएपनि थोरै मात्र उत्पादन गर्न सकिएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक सतिशकुमार कर्ण बताउँछन ।
उनका अनुसार सुदूरपश्चिममा ३० मेगावाटको चमेलिया, ८.५ मेगावाटको नौगाड, ३.३ मेगावाटको कपाडीगाड र १ मेगावाटको जेउलीगाड गरी ४२.८ मेगावाट विद्युत उत्पादन भएको छ ।
जलविद्युत उत्पादनको सम्भावनालाई सदुपयोग गर्न सके सुदूरपश्चिम प्रदेशको आर्थिक स्तरलाई समृद्ध बनाउन सकिने उनी बताउँछन् । ‘जलविद्युत आर्थिक वृद्धि र आर्थिक रुपान्तरणका लागि महत्त्वपूर्ण साधन हो,’ उनले भने, ‘तर, सरकारले विद्युत उत्पादनमा पर्याप्त लगानी गर्न सकेको छैन् ।’
सुदूरपश्चिम प्रदेशमा ८९ मेगावाट क्षमताका ९ जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको विद्युत विकास विभागका सूचना अधिकारी निशा रिजाल बताउँछिन ।
उनका अनुसार ५४ मेगावाट क्षमताका ६ वटा जलविद्युत आयोजना निर्माणको तयारी भइरहेको छ । सुदूरपश्चिममा वृहत् कर्णाली चिसापानी आयोजनाको क्षमता १० हजार ८ सय, पञ्चेश्वर आयोजनाको क्षमता ६ हजार ८ सय, पश्चिम सेतीको आयोजनाको क्षमता ७ सय ५० र एसआर सिक्स आयोजनाको क्षमता ६ सय ५२ मेगावाट रहेको छ ।
यी आयोजना निर्माणको विषय वर्षौदेखि उठे पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन । विद्युत विकास विभागको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशका बझाङमा कालङ्गा १५।३ मेगावाट, कैलालीमा कापडीगाड ३.३ मेगावाट, दार्चुलामा मकरीगाड १० मेगावाट, नवगाड १ मेगावाट, माथिल्लो नवगाड ८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण भइरहेको छ ।
यसैगरी, बझाङमा सनिगाड १०.७ मेगावाट, माथिल्लो कालङगाड ३८.८ मेगावाट र डोटीमा माथिल्लो गड्डीगाड १.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण भइरहेका छ । ५४ मेगावाट क्षमताका ६ वटा जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता भई निर्माणको चरणमा रहेको विद्युत विकास विभागका सूचना अधिकारी रिजालको भनाई छ ।
उनका अनुसार विद्युत खरिद सम्झौता भई बझाङको जागडीगाड, सानो सुनीगाड, डोटीको माथिल्लो गड्डीगाड, दार्चुलाको नवगाड र चमेलिया निर्माणको चरणमा छन्। सुदूरपश्चिम प्रदेशमा विद्युत उत्पादनका लागि प्रति मेगावाट करिब २० करोड रुपैयाँ खर्च हुने सूचना अधिकारी रिजाल बताउँछिन् ।
सुदूरपश्चिममा रहेको जलविद्युत उत्पादन क्षमता अनुसार करिब ३६ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ खर्च हुन्छ । विद्युत विकास विभागको तथ्यांक अनुसार नेपालमा ८३ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता रहेको छ ।
विद्युत उत्पादनका लागि पुँजी लगानीको व्यवस्थापन, विदेशी लगानीकर्ताको आकर्षण, विद्युत खरिद सम्झौता गर्नमा चुनौती रहेको विद्युत विकास विभागका सूचना अधिकारी रिजाल बताउँछिन् । सुदूरपश्चिम प्रदेश सरकारले जलविद्युत उत्पादनलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने उनको भनाई छ ।
सुदूरपश्चिम डेढ वर्षमा आत्मनिर्भर हुुने
सुदूरपश्चिम प्रदेश डेढ वर्षभित्र जलविद्युतमा आत्मनिर्भर हुने भएको छ । सुदूरपश्चिम प्रदेशको बझाङ बालंगा बेसिनका ३ जलविद्युत आयोजना निर्माण भएपछि सुदूरपश्चिम प्रदेश आत्मनिर्भर हुनेछ ।
कालंगा बेसिनका आयोजनाको निर्माण कार्य तीव्र रुपमा भइरहेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक सतिशकुमार कर्ण बताउँछन् ।
उनका अनुसार कालंगा बेसिनको अपर कालंगा ३८।४६ मेगावाट, १५।३३ मेगावाटको कालंगा र १०।७० मेगावाटको सानीगाड जलविद्युत आयोजनाबाट ६४.४९ मेगावाट विद्युत उत्पादन हुनेछ ।
सुदूरपश्चिम प्रदेशमा करिब ६४ मेगावाट विद्युतको माग रहेको उनी बताउँछन् । उनका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा ४२.८ मेगावाट विद्युत उत्पादन हुन्छ। बझाङका ३ आयोजनाबाट विद्युत उत्पादन भएपछि सुदूरपश्चिम प्रदेशको आफ्नो उन्पादन १०६.८ मेगावाट विद्युत हुनेछ ।