बैतडीका विभिन्न स्थानबाट प्रहरीद्दारा १४९ थान हातहतियार संकलन

बुलेटिन संवाददाता
९ मंसिर २०७६, सोमबार १६:५६

बैतडी । गृह मन्त्रालयको हतियार संकलन गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय, मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा बैतडीका विभिन्न स्थानबाट प्रहरीले १४९ थान हातहतियार संकलन गरेको छ ।

उपनिर्वाचनमा सुरक्षा संवेदनशीलतालाई पनि ध्यानमा राखी हातहतियार संकलन गरिएको प्रहरीले जनाएको छ । बैतडीका ३ वडामा उपनिर्वाचन हुँदैछ । संकलित हतियारमध्ये १३५ थान एकनाले भरुवा बन्दुक, १० थान दुईनाले बन्दुक र चार थान बारबोर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

सबै हतियार जिल्ला प्रशासन कार्यालयबाट इजाजतप्राप्त रहेको जनाइएको छ । हतियार संकलनपछि हत्या–हिंसाका घटनामा कमी आउनका साथै वन्यजन्तुको चोरी–सिकारीका घटनासमेत कम हुने विश्वास गरिएको छ ।

गृह मन्त्रालयले उपनिर्वाचन हुने जिल्लामा मंसिर १० भित्र हतियार बुझाउन आग्रह गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले वैधरअवैध हतियार बुझाउन आग्रह गरेकोे बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि अवैध हतियार बुझाउन गत चैत १ मा ३५ दिने सूचना जारी गरेको थियो ।