अफगानिस्तानमा १४ तालिबान लडाकु मारिए

बुलेटिन संवाददाता
३ मंसिर २०७६, मंगलवार १५:२२

अफगानिस्तान । अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको हवाई कारबाहीमा परी तालिबानका कमाण्डरसहित १४ जना मारिएका स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ ।

कुन्दुज प्रान्तको आर्ची जिल्लाको काररुक क्षेत्रमा लुकेर बसेका तालिबान लडाकूविरुद्ध भएको सो कारबाहीका क्रममा १४ तालिबान लडाकु मारिएका प्रान्तीय प्रहरीले विज्ञप्ति जारी गरी जनाएको छ । मारिएकामध्ये एक स्थानीय कमाण्डरसमेत रहेका बताइएको छ ।

मारिएका ती आतंककारीहरूले सरकार विरोधी गतिविधिका क्रममा सो जिल्लाको कार्यालय भवन, सैन्य परिसर र अन्य सार्वजनिक सुविधाहरुलाई उथलपुथल गर्ने कार्यमा संलग्न रहेका थिए ।

अफगान सुरक्षाबलले हालै तालिबानी लडाकूविरुद्धको सुरक्षा अभियानलाई थप बलिया बनाएका छन् । तालिबान लडाकू समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् । -एजेन्सी