‘जागरण’ रजत महोत्सव विशेषाङ्क विमोचन

बुलेटिन संवाददाता
२० कार्तिक २०७६, बुधबार १७:०४

भोजराज भट्टराई
कार्तिक २०, पाल्पा
पाल्पा साहित्य समाजले रजत महोत्सवको सन्दर्भ पारेर बुधबार तानसेनमा ‘जागरण’ स्मारिका सार्वजनिक गरेको छ ।

समाजको रजत महोत्सव वर्ष–२०७५/७६ को अवसरमा प्रकाशित ‘जागरण’ रजत महोत्सव विशेषाङ्कको साहित्यकार शशी पन्थीले एक समारोह बीच विमोचन गरे । उनले समाजद्वारा प्रकाशित जागरण स्मारिकाले पाल्पाली साहित्यिक क्षेत्रलाई उज्यालो पार्ने काम गरेको बताए । ‘कुनै पनि संस्था खोल्नु, बन्द हुनुले खास अर्थ राख्दैन’, उनले भने– ‘पाल्पा साहित्य समाजले यस क्षेत्रमा निरन्तर साहित्यिक गतिविधि सञ्चालन गर्दै सिङ्गो पाल्पा र आसपासका क्षेत्रलाई उजिल्याउने काम गरेको छ ।’

समाजका संरक्षक राजेन्द्रगोपाल सिंहले पाल्पा साहित्य समाजलाई रजत महोत्सवसम्म ल्याइ पु¥याउन सवै पाल्पाली साहित्यकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सहकार्य र एकताका साथ साहित्यिक गतिविधिलाई अगाडि बढाउन पाल्पा साहित्य समाज सधैं तयार रहेको जनाए ।

कार्यक्रममा तानसेन गुठीका अध्यक्ष सर्जुलाल लिगल, समाजका पत्रकार सेनानी मेघराज शर्मा, पोखराथोक साहित्य समाजका अध्यक्ष हरि भट्टराई,साहित्यकार गोविन्द भट्टराई, शारदा नेपालले समाजको गतिविधिले नै संस्था जागृत रहेको जनाए । सोही कार्यक्रममा शुभकामना मन्तव्य राख्दै व्यवसायी नरेश भट्टराई, शुभेच्छुक शारदा नेपाल, प्राज्ञिक विद्यार्थी परिषद् प्रदेश नं. ५ की प्रतिनिधि राधिका पोखरेलले समाजले रजत महोत्सवको अवसरमा नियमित सञ्चालन गरिरहेका कार्यक्रमहरू अनुकरणीय रहेको बताए ।

समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षतामा चलेको कार्यक्रममा सल्लाहकारद्वय चिरञ्जी शर्मा ढुङ्गानाको स्वागत, चित्रवली राम सुवालको धन्यवाद ज्ञापन र उद्घोषण सचिव महेन्द्र पन्थीको रहेको थियो । समाजले आगामी मंसिर ७ गते शनिबारका दिन ११७ औं साहित्यकार माधवप्रसाद देवकोटा जन्मजयन्ती, १७० औं पाल्पाली आदिकवि छविलाल नेपालको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम गरी रजत महोत्सव समारोधलाई विधिवत समापन गर्ने जनाएको छ ।