आलमलाई थप ५ दिन थुनामा राख्न प्रहरीलाई अदालतको अनुमति

बुलेटिन संवाददाता
३ कार्तिक २०७६, आईतवार १५:३३

३ कार्तिक, काठमाडौं । अदालतले रौतहटबाट निर्वाचित सांसद मोहम्मद आफताब आलमलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत रौतहटले यसअघि दिएको ७ दिनको म्याद सकिएपछि प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा पेश गरेको थियो । आइतबार अदालतले आलमलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई प्रहरीलाई अनुमति दिएको हो ।

झण्डै दुई दर्जनलाई ईटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोप खेपीरहेका रौतहटका सांसद मोहम्मद आफताब आलमलाई उक्त प्रकरणको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो ।

उनीमाथि वि‍।सं। २०६४ सालको संविधानसभाको निर्वाचनमा बुथ कब्जा गर्ने उद्देश्यले बम बनाउन लाग्दा विस्फोट भइ घाइते भएकाहरुलाई जिउँदै ईटाभट्टामा जलाएर हत्या गरेको आरोप लागेको छ ।

यसअघि जिल्ला अदालत रौतहटले आलमलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो । तर, उक्त अवधिमा अनुसन्धान कार्य पूरा नभएपछि प्रहरीले म्याद थपका लागि आलमलाई पुनः अदालतमा उपस्थित गराएको हो । उनलाई कडा सुरक्षाका बीच अदालतमा उपस्थित गराइएको थियो ।