मुलुक समृद्ध हुन हरेक समुदाय, वर्ग समृद्ध हुन आवश्यक छ : उपराष्ट्रपति पुन

बुलेटिन संवाददाता
२७ आश्विन २०७६, सोमबार १७:५६

२७ असोज,काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले देश समृद्ध हुन त्यहाँ रहेका हरेक समुदाय, वर्ग, लिंग समृद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलनको उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले मुलुक समृद्ध बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् । ‘समृद्धि सरकारको एक्लो प्रयासबाट मात्रै पनि सम्भव छैन,’ उनले भने, ‘यसका लागि सबै समुदाय, वर्ग, क्षेत्र लाग्नु पर्दछ ।’

उपराष्ट्रपति पुनले मुलुकमा विभिन्न समुदायले पहिचानका लागि संघर्ष गरिरहेको उल्लेख गर्दै संविधानमा कतिपय सवालहरु सम्बोधन हुन नसकेको भए पनि ती समय सन्दर्भमा सम्बोधन हुने बताए । ‘संविधान एउटा गतिशिल दस्तावेज भएकोले समय सन्दर्भमा सम्बोधन हुने नै छन्,’ उनले भने, ‘तर अहिलेको मूल प्राथमिकता भनेको प्राप्त अधिकारहरुलाई स्थापित गर्दै हाम्रा अधिकार र आवाजहरुलाई संस्थागत गर्दै मुलुकको विकास र समृद्धि प्राप्त गर्नु हो ।’

नेपालको इतिहासमा वीरताको भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले उक्त इतिहास बनाउन मगर समुदायको पनि उच्च योगदान गरेका भन्दै प्रसंसा गरे । यसरी नै भौगोलिक विविधताले बनेको नेपालमा मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, भेषभुषालगायत मगर समुदायको पहिचानले नेपाललाई झनै सुन्दर बनाएको उनको भनाइ छ ।

‘यसै समारोहमा विशेषगरी बाह्र मगराँत, अथार मगराँत र काइके क्षेत्रको मौलिकता झल्कने सांस्कृतिक प्रस्तुतीहरु हेर्‍यौँ,’ उपराष्ट्रपति पुनले भने, ‘यसबाट पनि प्रष्ट हुन्छ –मगरहरुबीचमा विविधता छ । यो विविधता मगर समुदायको सम्पत्ति हो । विविधताबीच एकता छ । यो एकता मगर समुदायको शक्ति हो । नेपाल राष्ट्रको शक्ति हो ।’