म्याग्दीमा असिनाका कारण धानबालीमा ठूलाे क्षति, किसानकाे बिचल्ली

बुलेटिन संवाददाता
२३ आश्विन २०७६, बिहीबार ०९:०५

२३ असोज, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण धानबालीमा ठूलो क्षति पुगेको छ । धान भित्र्याउने बेलामा परेको असिनाका कारण करिब १५ हजार मुरी धान उत्पादन हुने खेतमा लगाइएको धानबालीमा पूर्ण क्षति पुगेको हो ।

असिनाका कारण ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी नगरपालिका–२ का अध्यक्ष हिराबहादुर थापाले बताए । मंगलबार अपराह्न २ बजेखदेखि परेको असिनाका कारण धानबालीमा क्षति पुगेको हो ।

भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा, तमाने, विमिराबोट, फापरखेतलगायत ठाउँमा लगाएको धानबाली, कोदो, फलफूल लगायतको बालीमा क्षति पुगेको छ । भित्र्याउने बेलाको धान असिनाका कारण नष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् ।

असिनाका कारण स्थानीय भद्रबहादुर रिजालको ५२ मुरी धान उत्पादन हुने खेतको धान बाली पूर्णरुपमा क्षति पुगेको छ । त्यसैगरी डम्मरबहादुर पोख्रेलको २५, लीला जौसीको २५, चन्द्रकान्त शर्माको २५ मुरीलगायत सयौं किसानको खेतमा लगाएको धानबालीमा क्षति पुगेको छ ।

ज्यामरुककोटको गौश्वारा, तमाने र विमिराबोट क्षेत्रका ३०० घरपरिवारमध्ये १५० घरपरिवारको खेतमा लगाएको धानबालीमा पूर्ण क्षति पुगेको छ भने १५० परिवारको खेतमा भने आंशिक क्षति पुगेको बेनी नगरपालिका–२ का वडा सदस्य डम्मरबहादुर पोख्रेलले बताए ।

असिना पीडित भद्रबहादुर रिजालका अनुसार ५२ मुरी धान उत्पादन हुने खेतमा लगाइएको धान असिनाले एक दाना पनि काम नलाग्ने गरी झारेको छ । खेतमा धानको नल मात्र बाँकी छ भने दाना एउटा पनि छैन ।

बेनी नगरपालिका–२ का वडाअध्यक्ष हिराबहादुर थापाले असिनाका कारण १५ हजार मुरी धान क्षति भएको र यसबाट कृषकलाई ७५ लाख बराबरको नोक्सान भएको बताए । वडाध्यक्ष थापाका अनुसार विपद्कालीन बैठक बसेर क्षतिको यथार्थ विवरण सङ्कलन कार्य भइरहेको र एक–दुई दिनभित्रमा वास्तविक क्षतिको विवरण सार्वजनिक गरिनेछ ।

असिनाले धान खेती सखाप पारेपछि स्थानीय कृषकहरु चिन्तित बनेका छन् । उनीहरुले राहत पाउन नसकेमा भोकै पर्नुको विकल्प नरहेको बताएका छन् ।