विदेशी भूमिमा खेलाडीको दसैँ : फुटबलरको रंगिन निधार‚ क्रिकेटरकाे रित्तै

बुलेटिन संवाददाता
२१ आश्विन २०७६, मंगलवार १५:२०

२१ असोज, काठमाडौं । देश दसैँमय भइरहेको अवस्थामा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरु भने यो समयमा विदेशी भूमिमा देशको नाम उच्च राख्न दिनरात मेहनत गरिरहेका छन् । उनीहरुले आमाबुबा, दाजुभाइ, दिदिबहिनी, आफन्तजनलाई छाडेर चाडपर्व पनि नभनी विदेशी भूमिमा मेहनत गरिरहेका छन् ।

जसमध्ये नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु अष्ट्रेलियामा रहेका छन् । यस्तै‚ राष्ट्रिय क्रिकेट टोली ओमनमा जारी पाँच राष्ट्र सम्मिलित टि–ट्वेन्टी सिरिज खेलीरहेका छन् । राष्ट्रिय महिला यु–१५ टोली भुटानमा आयोजना हुने साफ च्याम्पियनसिपमा सहभागिता जनाउन त्यहाँ पुगेका छन् ।

विदेशमा रहेका खेलाडीहरुले दसैँ कसरी मनाए ?

क्रिकेट टोली निधार रित्तै

यस वर्षको क्रिकेट टोलीको दसैँमा निधार रित्तै बनेको छ । टोलीका कप्तान पारस खड्काले चाडबाडभन्दा पनि देशको ड्युटी महत्त्वपूर्ण रहेको बताएका छन् । चाडबाडका बेला परिवार मिस हुनु स्वभाविक भए पनि देशको ड्युटी गर्नु नै ठूलो भएको र त्यसैमा बढी फोकस भइरहेको धारणा छ व्यक्त गरेका छन् ।

फुटबल टोली

नेपाली टोलीले अष्ट्रेलियाको सिड्नीमा यसपालीको दसैँ मनाएका छन् । नेपाली टोलीलाई नेपाली टिमका म्यानेजर मधुसुदन उपाध्याले टीका साथै जमरा लगाइदिएका छन् ।

महिला यू–१५ टोली

भुटानमा रहेका नेपाली यु–१५ टोलीले साइतअनुसार दसैँको टीका लगाएका छन् । टोलीका मुख्य प्रशिक्षक राकेश श्रेष्ठ, सहायक प्रशिक्षक भगवती थापा र गोलरक्षक प्रशिक्षक, मीनबहादुर बस्नेतले नेपाली टोलीलाई दसैको टिका लगाएर आशीर्वाद दिएका छन् ।