मासुका परिकार खाँदा यी कुरा ध्यान दिनुहोस

दशैको खानपिन
बुलेटिन संवाददाता
१९ आश्विन २०७६, आईतवार १३:१४

काठमाडौं । चाडबाडका अवसरमा मासुजन्य परिकार र मादक पदार्थ सेवन बढी हुने गर्दछ । विशेषतः दसैँमा मासुका परिकार र मादक पदार्थ सेवन गर्नेहरु बढी हुन्छन् ।

तर‚ स्वास्थ्यका दृष्टिकोणले कति मात्रामा मासुका परिकार र मादक पदार्थ सेवन गर्ने भन्ने वास्ता गर्दैनौँ । पाए र सके जति खाने चलन छ । यसरी सेवन गर्दा शरीरलाई कस्तो असर पर्छ अड्कल कमैले मात्र गर्छन् । दसैँमा मासुका परिकारसँगै मदिरा‚ चिल्लो, पीरो मसलेदार खाना खाने चलन छ ।

कति खाने/पिउने

नेशनल इन्ष्टिच्युट अफ अल्कोहल अब्युज एण्ड अल्कोहोलिज्मका अनुसार कुनै पनि मादक पदार्थमा सेवन गर्दा १४ ग्राम पिउनु उचित हो । त्यसलाई स्टान्डर्ड ड्रिंक्स् भनिन्छ ।

अमेरिकन हार्ट एसोसिएसन तथा अमेरिकन डाइबिटिज एशोसिएसनका अनुसार ह्विस्कि, स्पिरिट सेवन गर्ने हो भने ४५ मिलिलिटर, बियर ३४० मिलिलिटर र वाइन, साइडर १४० मिलिलिटर पिउनु उपयुक्त मानिन्छ ।

४५ वर्षमाथिका स्वस्थ शरीर भएका महिलाले दैनिक एक र पुरुषहरुले दिनको दुई पटक ड्रिंक्स गर्न सकिने सल्लाह दिइएको छ ।

कुनै पनि खानेकुरा खाँदा थोरै–थोरै मात्रामा धेरै पटक खानु राम्रो मानिन्छ । सागपात र फलफूलसहितको सन्तुलित खाना उपयुक्त हुने पोषणविदहरुको सुझाव छ । अत्यधिक चिल्लो, मसलेदार बोसोयुक्त खानाले ग्याष्ट्रिक बढाउने, अपच गराउने गर्छ । यसरी नै बासी खाना, काँचो मासु खाँदा फुड प्वाजन हुने प्रवल सम्भावना हुन्छ ।

बिरामीले के गर्ने

मधुमेहका बिरामीले मदिरा सेवन गर्नुपूर्व धेरै कुरा विचार गर्नुपर्छ । अमेरिकन डाइबिटिज एसोसियसनले रगतमा सुगर अनियन्त्रित छ भने मदिरा वर्जित गरेको छ । एक–दुई पटक मदिरा पिउँदा डाइबिटिजका बिरामीको रगतमा सुगरको मात्रा बढाइदिन्छ । यति मात्र होइन कति बिरामीमा सुगरको मात्रा धेरै कम पनि गराइदिन सक्छ । मदिरा सेवन गरेपछिको २४ घण्टासम्म रगतमा सुगरको मात्रा कम गराउन सक्छ ।

रगतमा सुगरको मात्रा चाहिनेभन्दा कम भएमा मानिसको मृत्यु समेत हुन्छ । त्यसैले मदिरा पिउने नै हो भने मदिरा सेवन गर्नुपूर्व सुगरको अवस्था कस्तो छ भन्ने परीक्षण गर्नुपर्छ । मदिरा सेवन गरेको बेला रगतमा सुगरको मात्रा १०० देखि १४० भित्रै राख्नुपर्ने अमेरिकन डाइबिटिज एसोसिएसनको सल्लाह छ ।

डाइबिटिजको बिरामीले मदिरा सेवन गर्नुपरेमा खाली पेटमा पिउनु हुँदैन । साथै, कुनै पनि मदिरा सेवन गर्दा विस्तारै र डाइट सोडा वा पानीसँग मिसाएर मात्र पिउनुपर्छ ।

मुटुरोग भएका बिरामीहरुले मदिरा सेवन गर्दा मुटुको चाल गडबडी हुने, रक्तचाप अनियन्त्रित हुने, मुटुको काम गर्ने क्षमता कमजोर हुने आदि समस्या हुने चिकित्सकहरु बताउँछन् । त्यसैले यस्ता बिरामी मदिरा सेवनबाट टाढा रहन नै राम्रो भएको उनीहरुको सुझाव छ ।

रातो मासु र मदिराको अत्यधिक सेवनले रगतमा कोलेष्ट्रोल तथा युरिक एसिड बढाउने गर्ने हुनाले मासु खाँदा चारखुट्टे जनावरको भन्दा कुखुरा, हाँसको मासु र माछा खानु राम्रो हुन्छ । सफ्ट ड्रिंक्समा हुने अत्यधिक गुलियोपनले पनि ग्याष्ट्रिक गराउने, मोटोपन बढाउने तथा रगतमा ट्राइग्लिसेराइड जस्ता कोलेष्ट्रोलको मात्रा बढाइदिने भएकाले यस्ता पेय पदार्थभन्दा सादा पानी पिउनु नै उत्तम हुन्छ ।

चाडबाडमा सकभर मदिरा सेवन नै नगरौं । सेवन गर्नै परेमा चिकित्सकहरुके सुझावलाई ध्यान दिऔं ।