देश बिकासमा शिक्षकको भूमिका महत्वपूर्ण छ : पर्यटनमन्त्री गिरी

बुलेटिन संवाददाता
१८ आश्विन २०७६, शनिबार १९:३७

बुटवल, १८ असोज । प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले देशको समग्र बिकासमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीद्वारा शनिवार बुटवलमा आयोजित विजय दशमी, दिपावली, छठ पर्ब तथा शिक्षक दिवसको अवसरमा मन्त्री गिरीले सो कुरा बताउदै हालको आवश्यकता प्राबिधिक तथा व्यवसायिक शिक्षा भएकोले सोहि अनुसार जनशक्ति उत्पादन गर्नु पर्नेमा जोड दिए ।

नेकपा जिल्ला संयोजक समेत रहेका मन्त्री गिरीले सबै तहमा नेपाल राष्ट्रिय शिक्षक संगठन र एकिकृत अखिल शिक्षक संगठनबीच केहि दिनमै एकीकरण हुने समेत बताए ।

प्रदेश ५ प्रदेश सभा सदस्य दधिराम न्यौपानेले देशमा चाहिने हरेक किसिमको जनशक्ति शिक्षकले उत्पादन गर्ने भएकोले शिक्षकको पेशागत विकासमा सबै तहले ध्यान दिनु पर्ने बताए । उनले समाज रुपान्तरणको अभियानमा सजग र सचेत भएर प्रस्तुत हुन शिक्षकहरुलाई आग्रह समेत गरे । कार्यक्रममा नेकपा रुपन्देहीका जिल्ला सचिव निर्मल जिसी, नेपाल राष्ट्रिय शिक्षक संगठनक केन्द्रीय सदस्य एकदेव पन्थी, एकिकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश ५ का महासचिव प्रेम बस्नेत, कान्ति माबि बुटवलका प्र.अ. केदारनाथ ज्ञवाली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीका अध्यक्ष मोतिलाल सुबेदीको अध्यक्षता, संगठनका सचिव बिष्णुहरि ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।