३३ औ झरना कपको उपाधी सिम्रिकलाई

बुलेटिन संवाददाता
१८ आश्विन २०७६, शनिबार १९:३२

१८ असोज, बुटवल । रुपन्देहीमा जारी झरना रनिङ शिल्ड नकआउट फुटवल प्रतियोगिताक‍ो ३३ औ संस्करणको उपाधि सिम्रिक युवा क्लब कालिकानगरले उचालेको छ ।
शनिबार भएको फाईनल खेलमा फर्साटिकर युवा क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै सिम्रिक नगद ३ लाख १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता फर्साटिकर नगद १ लाख ५५ हजार सहित कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।
सेमीफाईनल पुगेको जुगेडी एफसी चितवन र योग स्टार एफसी मडाहा दुई टिम नगद २५-२५ हजार रुपैयाबाट पुरस्कृत भएका छन । सिम्रिकका धानु थापा उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी फर्साटिकरका फोफाना, उत्कृष्ट मिडफिल्डर सिम्रिकका नितिन थापा, उत्कृष्ट डिफेन्डर सिम्रिकका शंकर राई पुरस्कृत भए ।
कुन्जलापुरस्थित उमा आधारभुत विद्यालयको खेलमैदानमा मंगलबार भएको फाईनल खेलको शुरुवातमा नै सिम्रिकले अग्रता लिएको थियो । खेलको ८ औ मिनेटमा लक्ष्मण परियारले गरेको प्रहार फर्साटिकरका गोलकिपर टिकेन्द्र थापाबाट रिभर्स भएको बललाई धानु गुरुङले उत्कृष्ट हेड गर्दै गोलमा परिणत गरे । खेलको १५ औ मिनेटमा फर्साटिकरले बराबरीको राम्रो अवसर गुमायो। डिफेन्स बिट भएको अवस्थामा आमिर श्रेष्ठ र सुरज हमालले गोल गर्नबाट चुके । खेलको ३७ मिनेटमा धानु गुरुङले नै वन भर्सेज वनमा गोल गर्दै अग्रता दोब्बर गरे। खेलको ६२ मिनेटमा जनममान लिगलको क्रसमा शिव सुवेदीले हेडमार्फत गोल गरे । खेलको ८५ औ मिनेटमा शिव सुवेदीले ब्यक्तिगत दोस्रो गोलसंगै जित पक्का गरे ।
एक समारोहका बिच क्लबका संरक्षक तथा युवा उद्यमी महेश थैव, जिल्ला फुटवल संघ रुपन्देहीका अध्यक्ष दिर्घ बहादुर केसी, एन्फा एकेडेमीका निर्देशक बुद्धि गुरुङ, उमा आधारभुत विद्यालयका अध्यक्ष छत्र बहादुर दर्लामी, क्लबका अध्यक्ष लोक पुनले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।