फटयाङग्राहरू उफ्रिँदैमा व्यवस्थामा असर पर्दैन : महासचिव पौडेल

बुलेटिन संवाददाता
१६ आश्विन २०७६, बिहीबार १४:३०

१६ असोज, बुटवल । नेकपा महासचिव विष्णु पौडेलले दुई/चार जना कोही उफ्रिँदैमा अहिलेको व्यवस्थामा कुनै असर नपुग्ने बताएका छन् ।

‘अहिले बजारमा केही फटयाङग्राहरू उफ्रेर गालामा लात्ती हान्ने कोषिस गरेका छन’  । बिहीबार नेकपा बुटवल नगर कमिटीले आयोजना गरेको शुभकामना आदान/प्रदान कार्यक्रममा बोल्दै पौडेलले भने, ‘फटयाङग्राहरू उफ्रिँदैमा अहिलेको व्यवस्था परिर्वतन सम्भव छैन । यो त, जनताको संघर्षबाट स्थापना भएको व्यवस्था हो ।’

उनले थपे, ‘गणतन्त्र, धर्मनिरपेक्षता संघीयता हामीले ल्याएको व्यवस्था हो । राजा महाराजाले उपहार दिएका होइनन । कसैको कृपा होइन । यो व्यवस्था कसैले चाहदैमा परिर्वत हुँदैन/कोही उफ्रिँदैमा केही हुँदैन ।’ रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व अर्थमन्त्री पौडेलले संघर्षको परिणामबाट बनेको व्यवस्था र संविधानलाई केही व्यक्तिले चाहदैमा परिवर्तन सम्भव नभएको दावी गरे ।

पौडेलले भने, ‘नेपालको नयाँ संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको छ । हाम्रो संविधान संसारका जुनसुकै देशको भन्दा कमशल छैन । सबै दृष्टिले उपयुक्त छ ।’  यस क्षेत्रको विकास निर्माणमा लागि आफू सधै सवै राजनीति दलहरुसँग सहकार्य गरेर अगाडि बढेको बताए । अहिलेको सरकार विकासमा सही र सन्तुलित नीति अगाडि सारेको बताए ।

उनले सरकारको मूल्याङकन जनताले निर्वाचनबाट गर्ने बताए । उनले भने, ‘हामीले प्रदेश, संघीय र स्थानीय तहको निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरु पूरा गर्दै अगाडि बढेका छौं । हाम्रा घोषणापत्रमा रातो धर्का लगाउनुहोस । हामी पाँच वर्ष भित्र सबै बाचा पूरा गरेर छाडछौं ।’ यही अहिलेको नेकपा नेतृत्वको सरकारले गरिबी, बेरोजगारी र सुकुम्बासी समस्या पूरा गर्ने पौडेलको दावी छ ।

पौडेलले यस वर्ष बुटवल पाल्पा सडक खण्डको सिद्धबाबामा निर्माण गर्ने सुरूङ मार्गको डिपिआर हुने दावी समेत गरे । रुपन्देहीका ठूला विकास निर्माणका आयोजनाहरु अगाडि बढेको भन्दै यि आयोजनाहरु सफल बनाउन सबै मिल्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश नम्बर पाँचका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरी, नेकपा रुपन्देहीका अध्यक्ष शिव सुवेदी, जिल्ला समन्व्य समितिका सभापति एकराज विक, राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराई, प्रदेशसभा सदस्य दधिराम न्यौपाने लगायतले बोलेका थिए ।