पदबाट राजीनामा दिए पनि महराले दसैं सभामुख निवासमै मनाउने

बुलेटिन संवाददाता
१५ आश्विन २०७६, बुधबार १४:४४

१५ असोज, काठमाडौं । बलात्कार आरोपपछि सभामुख पदबाट राजीनामा दिए पनि कृष्णबहादुर महराले दसैं भने सभामुखको सरकारी निवास बालुवाटारमै मनाउने भएका छन् ।

तत्कालीन नेकपा माओवादीको तर्फबाट २५ फागुन २०७४ मा सभामुख बनेका महराले हिजो अर्थात् १४ असोजमा राजीनामा दिएका हुन् । सभामुख पदबाट उनले दिएको राजिनामा संघीय संसद सचिवालय सचिव डा। भरतराज गौतमको हस्ताक्षरमा बुधबार सूचनापत्र प्रकाशित गरेसँगै स्वीकृत भएको छ ।

हालसम्म सभामुखको रूपमा संसद सचिवालयको वेबसाइटमा कृष्णबहादुर महराको नाम हटाइएको छैन । सभामुख निवासमा परिवारका सदस्यसँग रहेका सभामुखले निवास कहिले छाड्ने भन्ने विषयमा कुनै जानकारी वा सूचना नदिइएको महराका प्रेस सल्लाहकार डिल्ली मल्लले बताए ।

मल्लले भने, ‘यसो गर्नू वा उसो गर्नू भनेर कसैले केही भनेको छैन । निवास कहिले सर्ने भन्ने विषयमा योजना बनाइएको छैन । चाडबाड लागेकाले झण्डै एक महिना लाग्न सक्छ ।’ सरकारी निवास प्रयोग गरेका विशिष्ट व्यक्तिले त्यस्तो ओहोदाबाट अवकाश लिएको १५ दिनभित्र छोड्नुपर्ने नियम छ ।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई व्यक्तिगत कामले भारत गएका छन् । उनी नभएकाले सरकारी निवास खाली गराउने सूचना निकाल्न ढिलाइ हुने बताइएको छ ।

भट्टराई बुधबार साँझसम्म नेपाल फर्किएपछि सूचनापत्र प्रकाशित गर्ने भनिए पनि उनी आउन ढिलाइ भएपछि सचिवालयका वरिष्ठ सचिव गौतमले सूचनापत्र प्रकाशित गरेर महराको राजीनामा स्वीकृत भएको जानकारी दिएका हुन् ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २११ उपनियम १ मा सभामुखले उपसभामुखलाई सम्बोधन गरी आफ्नो पदबाट राजीनामा दिन सक्ने उल्लेख छ । त्यस्तो राजीनामा उपनियम २ बमोजिम बैठक चालू नरहेको अवस्थामा सूचनापत्रमा प्रकाशन गर्नुपर्ने वैधानिक प्रावधान छ ।

नियमावलीको नियम २१२ को उपनियम २ अनुसार सचिवालयले सभामुख पद रिक्त भएको सूचना भने निकालेको छैन । संघीय संसदको प्रतिनिधिसभाको बैठक चालु नरहेकाले अर्को सभामुखको निर्वाचन नहुन्जेलसम्म उपसभामुख शिवमाया तुम्बाहाम्फेले कार्यवाहक सभामुखको रूपमा उपसभामुखको कार्यकक्षबाटै जिम्मेवारी बहन गर्नुपर्नेछ ।

प्रतिनिधिसभा नियमावलीमा सदनको अधिवेशनको शुरुवात र अन्त्य सभामुखले गर्ने प्रावधान छ । तत्काल आवश्यकता नभए अर्को ९हिउँदे० अधिवेशन पुस महिनासम्म बोलाउने सरकारको तयारी छ ।