३३ औ झरना कप : सिम्रिक फाईनलमा

बुलेटिन संवाददाता
१४ आश्विन २०७६, मंगलवार १९:५६

१४ असोज, बुटवल । रुपन्देहीमा जारी झरना रनिङ शिल्ड नकआउट फुटवल प्रतियोगितामा सिम्रिक फुटबल क्लब फाईनलमा स्थान बनाएको छ ।

मंगलबार भएको पहिलो सेमीफाईनल खेलमा योग स्टार एफसी मडाहालाई ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै ३३ औ संस्करणको उपाधि दाबेदारी पेश गरेको हो । स्थानिय युवा खेलाडीसहित मैदानमा उत्रेको सिम्रिकको जितमा गोलकिपर सुजित गुरुङ नायक रहे । उनले ट्राईबेकरमा दुई जनाको खेलाडीको प्रहारलाई रोकिदिएका थिए ।

कुन्जलापुरस्थित उमा आधारभुत विद्यालयको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समय बराबरी भएपछि खेल ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा सिम्रिकको रंजित थापा, जनम लिगल, विशाल शाहि ठकुरी र जय गुरुङको प्रहार गोलमा परिणत भएको थियो । योग स्टारका सन्जु राना र बिश्वास श्रेष्ठले गोल गरेका थिए भने पाम्बे र रबि थापाको प्रहार सिम्रिकका गोलकिपर सोजित गुरुङले रोकिदिएका थिए । खेलमा सिम्रिकका गोलकिपर सोजित गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

बुधबार दोस्रो सेमीफाईनलमा जुगेडी एफसी चितवन र फर्साटिकर एफसी, फर्साटिकरका बिचमा खेल हुने खेल संयोजक किशोर पौडेलले बताए । झरना स्पोर्ट्स क्लबको आयोजनामा असोज २ गतेदेखि शुरु प्रतियोगितामा १६ टिमले भाग लिएका छन । प्रतियोगितामा उपाधि विजेताले नगद ३ लाख १० हजार, उपविजेता टिमले १ लाख ५५ हजार नगदसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

क्लबका कोषाध्यक्ष धनेन्द्र पौडेलले प्रतियोगिता आयोजनामा करीब १८ लाख खर्च हुने अनुमान रहेको बताए । गतवर्ष फर्साटिकर विजेता रहेको थियो ।