क्यान प्रदेश नं. ५ को दाङ घोराहीमा विविध कार्यक्रम

बुलेटिन संवाददाता
१४ आश्विन २०७६, मंगलवार १९:१२

भोजराज भट्टराई,
असोज १२ ।
कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ नेपालको प्रदेश नं. ५ को कार्यसमितिले दाङको घोराहीमा विविध कार्यक्रमसहित पहिलो कार्यक्रम सम्पन्न ग¥यो । प्रदेश नं. ५ का नवनिर्वाचित अध्यक्ष रोशन कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश पाँचको भावी कार्यक्रम, रणनीति र योजनाका विषयमा छलफलसहित अन्तरक्रिया कार्यक्रम भएको हो ।

अध्यक्ष कँडेलले दिएको जानकारी अनुसार प्रदेशको निर्वाचन सम्पन्न भए लगत्तै भएको पहिलो कार्यक्रममै विजया दशमी, शुभ दीपावली तथा छठ पर्व–२०७६ को अवसरमा शुभकामना आदान–प्रदान, अन्तरक्रिया तथा परिचय कार्यक्रम, स्वीमिङ कम्पिटिशन, धार्मिक तथा पर्यटकीयस्थल भ्रमण कार्यक्रम, हाजिरी जवाफ प्रतियोगिता असोज ११ र १२ गते दाङ जिल्लाको भिंग्रेली रिसोर्टमा सम्पन्न भएका हुन् । सोही अवसरमा प्रदेश नं. ५ अन्तरगतका १२ जिल्लामा प्रदेस्तरीय आइसिटी सेमिनार कार्यक्रम आयोजना गर्ने, सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई व्यापीकरण गर्नको लागि प्रत्येक जिल्लामा रचनात्मक कार्यक्रम आयोजना गर्ने विषयमा छलफल भएको अध्यक्ष कंडेलले जनाए ।

कार्यक्रममा प्रदेश नं. ५ का केन्द्रीय सदस्य रेशम गिरी, प्रदेश ५ का निवर्तमान अध्यक्ष सुदीप शर्मा, निवर्तमान जिल्ला अध्यक्ष भिमसेन गिरी, प्रदेश पाँचका कार्यसमिति पदाधिकारी, जिल्ला शाखाका अध्यक्षहरू, निवर्तमान अध्यक्षहरूसहित सूचना प्रविधिसम्बद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी जिल्ला अध्यक्षहरूले आफ्नो कार्यकालमा प्रदेसको सहकार्यमा विभिन्न सूचना प्रविधिसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए । कार्यक्रम प्रदेश नं. ५ का सचिव भोजराज तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो । सोही समारोहमा दाङ शाखाले नव निर्वाचित प्रदेश नं. ५ को पदाधिकारीलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो ।