मेलम्ची खानेपानी आयोजनाको काम केही महिनाभित्रै सम्पन्न हुन्छ : प्रधानमन्त्री ओली

‘नेपाललाई भिख मंग्गा र सडक मानवमुक्त बनाइने’
बुलेटिन संवाददाता
१३ आश्विन २०७६, सोमबार १५:०४

१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम केही महिनाभित्रै सम्पन्न हुने दाबी गरेका छन् ।

ललितपुरको भैँसेपाटीमा मुख्यमन्त्री आवास भवन निर्माणको सोमवार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौं आइपुग्न एक वर्ष नलाग्ने दाबी गरे ।

‘मेलम्चीको खानेपानी छिट्टै नै आउँछ, केही महिनाभित्र,’ प्रधानमन्त्री ओलीले भने, ‘अब एक वर्ष पनि लाग्दैन ।’ ठेकेदार भागेकाले केही ढिला भएको स्वीकार्दै प्रधानमन्त्री ओलीले नयाँ ढंगले काम अघि बढिसकेको बताए ।

‘चीरप्रतिक्षित आयोजना, हामीले सुन्ने मात्र गरेको, हो कि होइन भन्ने अवस्थाको मेलम्ची खानेपानी छिट्टै ल्याउँछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘यतिबेलासम्म ल्याइसक्ने अवस्था हुन्थ्यो, तर निर्माण कम्पनी भागेकाले ढिला भयो । हामीले नयाँ ढंगले काम अघि बढाइसकेका छौं ।’

‘भीख मंग्गा’मुक्त देश !

प्रधानमन्त्री ओलीले नेपाललाई ‘भिख मंगा’ र सडक मानव मुक्त देश बनाउने घोषण पनि गरे ।

‘हामी हाम्रो देशलाई ‘भिख मंग्गा’मुक्त देश बनाउँछौं, सडक मानवमुक्त देश बनाउँछौं छिट्टै,’ प्रधानमन्त्री ओलीले भने, ‘सडकमा यदि कोही बेसहारा र अलपत्र स्थितिमा देखिन्छ भने सरकारलाई त्यस्तो कुराको जानकारी दिनुस्, सरकारले व्यवस्थापन गर्छ ।’

सरकारले कुनै पनि नागरिकलाई बेसहारा र बेवारिसे अवस्थामा बस्न नदिने उनको जिकिर छ ।