बाढीले भारतमा १ सयभन्दा बढीको ज्यान गयो

बुलेटिन संवाददाता
१३ आश्विन २०७६, सोमबार १३:०७

१३ असोज, एजेन्सी । बाढीको कारण भारतको उत्तर प्रदेश र बिहार राज्यमा १०० जनाभन्दा बढीको ज्यान गएको छ । भारतको राज्य विपद् व्यवस्थापनको अनुसार बिहीबारयता उत्तर प्रदेशमा ९३ जना र बिहारमा २९ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेश र बिहार राज्यको सहरी क्षेत्रमा वर्षा र बाढीले जनजीवनलाई नराम्ररी प्रभावित बनाएको छ । रेल सेवा, अन्य यातायात, स्वास्थ्य सेवा, विद्यालय तथा विद्युत् आपूर्ति अस्तव्यस्त भएको अधिकारीहरूले जनाएका छन् ।

बाढीले बिहारको मुख्य सहर पटना पनि प्रभावित भएको छ । शुक्रबारदेखि नै पटना जलमग्न भएको छ । सडकभरी पानी जमिएको छ, सवारीसाधनहरू पानीमा डुबेका छन् । त्यहाँ धेरै आवासीय क्षेत्र डुबानमा परेका छन् ।

बिहार सरकारले भारतीय वायुसेनालाई हेलिकप्टर तथा पानी फाल्ने उपकरण उपलब्ध गराउन अनुरोध गरेको छ ।