संसद् निलम्बन गरेकोमा बेलायती प्रधानमन्त्री जोनसनले मागे माफी

बुलेटिन संवाददाता
१३ आश्विन २०७६, सोमबार १२:१०

१३ असोज, एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी एलिजाबेथ द्वितीयसँग संसद् निलम्बन गराएको विषयमा माफी मागेका छन् ।

बेलायतको सर्वोच्च अदालतले जोनसनको निर्णयविरुद्ध फैसला सुनाएपछि उनले महारानीलाई फोन गरेर माफी मागेका हुन् ।

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री र महारानीबीच विश्वासको प्रश्न उठेको छ । राजदरबारको एक सूत्रले बताएअनुसार, पूर्व प्रधानमन्त्री डेभिड क्यामरन जस्तै जोनसनले पनि विश्वास गुमाएका हुन् । महारानीसँग भएको कुरा क्यामरनले सार्वजनिक गरेको आरोप थियो ।

यो काण्डपछि पनि बोरिसले आफूलाई सही साबित गर्न प्रयास गरिरहेका छन् । आफू ब्रेक्जिटप्रति प्रतिबद्ध रहेको उनको भनाइ छ । ब्रसेल्ससँग कुनै सम्झौतासहित वा सम्झौताविना नै बेलायतलाई अर्को महिना युरोपेली संघबाट बहिर्गमन गराउन आफू तयार रहेको जोनसनको भनाइ छ ।

म्यानचेस्टरमा बीबीसीसँग कुरा गर्दै उनले भने, ‘हामीहरूले अघि बढ्ने आवश्यकता छ । हामीहरूले अक्टोबर ३१ सम्ममा ब्रेक्जिट गराउनैपर्छ ।’

ब्रेक्जिटका विषयमा कडा दृष्टिकोण अपनाएकाले जोनसन हाृस अफ कमन्समा समस्यामा परेका छन् र उनकै दलका सांसदहरूले पनि उनलाई छोडेका छन् । उनले सदनमा सातपटक हारको सामना गर्नु परिसकेको छ ।