खरिद गरेको झन्डै अढाइ महिना पछि सुदूरपश्चिम प्रदेशले प्रहरीलाई गर्यो गाडी हस्तान्तरण

बुलेटिन संवाददाता
८ आश्विन २०७६, बुधबार १३:५१

८ असोज, कैलाली । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीको लागि खरिद गरेको गाडी आज (बुधबार) हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) तारिणि प्रसाद लम्साललाई नौ वटा गाडीको साँचो हस्तान्तरण गरेका छन ।

मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजारका नौ गाडी खरिद गरेको थियो । प्रतिगाडी ३६ लाख ९९ हजारका दरले गाडी खरिद गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

गाडी खरिद गरेको झन्डै अढाइ महिना पछि प्रदेश सरकारले प्रहरीलाई गाडी हस्तान्तरण गरेको हो । प्रदेश प्रहरीको लागि भनेर खरिद गरिएको गाडी प्रदेश प्रहरी गठन हुन ढिलाइ हुने भएपछि नौ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बताए ।

प्रदेशका सबै जिल्लाहरुमा प्रहरीको लागि सवारी साधन अभाव भइरहेका बेला प्रदेश सरकारले वितरण गरेको गाडीले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहज हुने डिआइजी लम्सालले बताए ।