क्यान प्रदेश ५ अध्यक्षमा कँडेल

बुलेटिन संवाददाता
६ आश्विन २०७६, सोमबार १५:११

भोजराज भट्टराई,
रुपन्देही ५, असोज ।
कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ नेपालको ५ नम्बर प्रदेश अध्यक्षमा रुपन्देही शाखाबाट युवा व्यवसायी रोशन कँडेल निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिबार रुपन्देही स्थित टुलीप होटलमा सम्पन्न दोस्रो अधिवेशनबाट कँडेलसहित ९ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो ।

समितिको उपाध्यक्षमा कृष्ण वली (दाङ), सचिवमा भोजराज तिमिल्सेना (बाँके), सह सचिवमा नारायण खनाल (रुपन्देही), कोषाध्यक्षमा माधव घिमिरे (कपिलवस्तु) निर्विरोध निर्वाचित भएका छन् । यस्तैगरी मनोनित सदस्यमा महेश शर्मा (पाल्पा), कृष्ण खनाल (गुल्मी) रहेका छन् भने २ सदस्य मनोनयन बाँकी रहेको छ । निवर्तमान अध्यक्ष सुदिप शर्मा पदेन सदस्य र पाँच नम्बर प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला अध्यक्षहरू पदेन सदस्य रहने स्रोतले जनाएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख आमन्त्रित उद्योग बन तथा पर्यटन मन्त्री लिलागीरीले अधिवेशन सफलताको शुभकामना सहित प्रदेश ५ लाई सूचना प्रविधिको क्षेत्रमा अगाडि बढाउन प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने जनाए । यस्तै कार्यक्रमका विशिष्ट अतिथि क्यान महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले क्यान महासंघले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई व्यापीकरण गर्न समयसापेक्ष कार्यक्रमहरूलाई निरन्तरता दिएको बताए ।

उद्घाटन कार्यक्रममा क्यान महासंघका केन्द्रीय उपाध्यक्ष सुनैना पाण्डे, महासचिव रञ्जित पोदार, सह–कोषाध्यक्ष शेखरनाथ दुलाल, केन्द्रीय सदस्य रेशम गिरी, चितवन शाखाका पूर्व अध्यक्ष भानु शर्मा, जिल्ला शाखाको तर्फबाट बाँके शाखाका भोजराज तिमिल्सिना, रुपन्देही शाखाका अध्यक्ष रामदेव गौतम लगायतले शुभकामना मन्तव्यसहित आ–आफ्नो धारणा राखेको निवर्तमान अध्यक्ष सुदिप शर्माले जानकारी दिए । उद्घाटन कार्यक्रम प्रदेश अध्यक्ष सुदिप शर्माको अध्यक्षता ररुपन्देही शाखा सदस्य राज के.सी.को सञ्चालनमा चलेको थियो ।