इमान्दार व्यवसायीले कर प्रशासनको कडाईबाट डराउनुपदैन : अर्थमन्त्री खतिवडा

बुलेटिन संवाददाता
५ आश्विन २०७६, आईतवार १८:५८

५ असोज, काठमाडौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले करको दर र दायराको विषयमा व्यवसायीहरुसंग छलफल गर्ने बताएका छन ।

आइतबार राजधानीमा आयोजित नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको प्रथम बार्षिक साधारण सभालाई सम्बोधन गर्दै छिमेकी देशका सरकारले कर प्रशासनमा गरेको परिर्वतनले नेपालमा पार्ने प्रभावबारे व्यवसायीहरुसंग छलफल गर्ने बताएका हुन । छिमेकी राष्ट्र भारतले आर्थिक वृद्धिमा आएको संकुचनले लगानी बढाउन नसकिने निष्कर्ष निकाल्दै १० प्रतिशतको विन्दु सम्म आयकरको दरमा कटौती गर्ने निर्णय गरेको छ ।

यसबाट भारतीय सरकारले नागरिकको लगानी बाहिर नजाने र बाहिरको लगानी भारत भित्र ल्याउन सहयोग पुग्ने विश्वास लिएको बताईएको छ । भारत सरकारले करको दरहरु घटाए संगै अर्थमन्त्री खतिवडा पनि दबाबमा परेका हुन । उनले छिमेकी राष्ट्रहरुले आफ्नो अनुकुलतामा करका दरहरुमा समायोजन गर्ने भएको हुँदा नेपाल सरकारले पनि त्यसको अध्ययन गर्ने र राजश्व वोर्ड छिटै गठन गरी कर प्रतिष्पर्धात्मकताका लागि व्यवसायीहरुसंग छलफल गर्ने बताए ।

उनले इमान्दार व्यवसायीले कर प्रशासनको कडाईबाट डराउनुनपर्ने बताए । दुईथरी व्यवसायी नभई प्रतिस्पर्धी व्यवसायी निर्माण गर्ने प्रयासमा सबै लाग्नुपर्ने भन्दै उनले कर्मचारी संयन्त्र भित्रका विकृतिबारे सरकारलाई सुचना दिई सहयोग गर्न व्यवसायीलाई आग्रह गरे । उनले पारदर्शी र इमान्दार हुन सबै व्यवसायीलाई आग्रह पनि गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नियमन र कर प्रशासनका नयाँ व्यवस्था कार्यान्वय गर्दा लगानीको वातावरण नबिग्रियोस् भन्ने तर्फ सरकार पनि सचेत हुनु पर्ने बताए । उनले नेपालमा गरिने विदेशी लगानी पूँजी वा प्रविधि भन्ने विश्लेषण गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा व्यवसायीहरुले भ्याटको थ्रेस होल्ड, बैक ब्याजदर तथा फूल अडिटको बर्ष बढाउने विषयमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।