तरकारीमा विषादीको जोखिम कति ? विषादीको असर खेप्ने उपभोक्ता नै हुन् !

बुलेटिन संवाददाता
५ आश्विन २०७६, आईतवार १८:३७

५ असोज, काठमाडौ । कृषिमा आत्मनिर्भर हुन नसक्दा विशेषगरी भारत लगायतका मुलुकबाट स्वदेश भित्रिएका खाद्यवस्तु, तरकारी तथा फलफुलजन्य उत्पादन स्वस्थकर हुन्छन् या हुदैनन् भन्ने विषय गम्भिर छ ।

विषादीको परीक्षण बिना उपभोगमा आईरहेका तरकारीबाट मानवस्वास्थ्यमा प्रत्यक्ष असर पुगिरहेको छ । सरुवा रोग, हानिकारक किटाणुहरुको नाश गर्न व्यवसायिक कृषि अप्नाईरहेका विकसित देशहरुमा पनि विषादी प्रयोग गरिन्छ तर, नेपालमा भने विषादीको प्रयोग गर्न नजानेकै कारण पनि विविध समस्या निम्तिरहेको विज्ञहरु बताँउछन् ।

नेपालको अर्थतन्त्र कृषिप्रधान अर्थतन्त्र हो । परम्परागत आर्थिक आधारका रुपमा रहेको कृषि क्षेत्रमा ६३.५ प्रतिशतभन्दा बढी श्रमशक्ति आधारित रहेको तथ्यांक छ । यति ठूलो श्रमशक्ति संलग्न भए तापनि कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा भने लगभग ३० प्रतिशतको हाराहारीमा मात्रै योगदान गरिरहेको छ । जीडीपीमा योगदानको यो प्रतिशत संलग्न जनशक्तिको अनुपातमा एकदमै न्यून हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार कालीमाटीमा दैनिक करिब ८ सय टन तरकारी आयात हुन्छ । जसमध्ये ४४ प्रतिशत भारतबाट भित्रिन्छ ।

भारतबाटै आउने तरकारी र फलफूलमै सबैभन्दा बढी विषादी देखिने गरेको कालीमाटी तरकारी बजार परीक्षण केन्द्रले बताउदै आएको छ । नेपालमा ३ सय ९६ ग्राम प्रति हेक्टरका दरले विषादी प्रयोग भएको छ । दक्षिण एसियामा नै सबैभन्दा कम विषादी प्रयोग गर्ने देश नेपाल रहेको अधययनहरुले देखाएको छ । नागरिकको औसत आयु ८० वर्ष रहेको मुलुकमा पनि प्रतिहेक्टर १६ किलो विषादी प्रयोग गरिएको एक विज्ञ बताउँछन् ।

बालीनालीमा लाग्ने किरा लगायत माटोको अवस्था र वातावरणमा पछिसम्म पर्ने असरका बारेमा अध्ययन अनुसन्धान गरेर नै किसानहरुलाई विषादीहरु वितरण गरिएको विषादी व्यवसायी महासंघका महासचिव रामचन्द्र कार्की बताउछन् ।

किसानले आफूले चाहेअनुरुप विषादीको प्रयोग गर्न पाउँदैनन्, सोही अनुरुप मात्रा तोकेर विषादीको बिक्रि वितरण हुन्छ । तर, १ एम.एल. विषादी हाल्ने ठाउँमा किसानहरुले २, ३ एम.एल. हालेकै कारण यसले असर गरिरहेको कार्कि बताउछन् ।

नेपालमा कृषिजन्य सामाग्रीको उत्पादन हुन नसक्दा भारत, चीनलगायत अस्ट्रेलिया र भियतनामबाट समेत आयात गरिरहनुपरेको छ । नेपाली किसानहरु सजग र सचेत भएर कृषि क्षेत्रमा लागेको खण्डमा शतप्रतिशत गुणस्तरीय स्वदेशी उत्पादन उपभोग गर्न सकिने उपभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । विषादीको असर खेप्ने भनेको उपभोग गर्ने उपभोक्ता नै हुन् । त्यसैले तरकारी तथा फलफूल खरिद गर्दा उपभोक्ता पनि सजग हुुनुपर्छ ।

तर, दिर्घकालिन समाधानका लागि भने, स्वदेशी उत्पादनमा जोड गरिनुपर्छ भने, उचित विषादीको प्रयोगभन्दा पनि अर्गानिक कृषि खेतीमा बल गर्न सके उच्चतम लाभ लिन सकिनेछ ।