गाउँपालिकाको केन्द्र सार्न लागेको विरोधमा वडा कार्यालयमा तालाबन्दी

बुलेटिन संवाददाता
२ आश्विन २०७६, बिहीबार १३:४५

२ असोज, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरोधमा सो गाउँपालिकाको दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ ।

गाउँपालिकाको केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग गर्दै स्थानीयवासीद्वारा गठित सङ्घर्ष समितिले वडा नंं. ४ र ७ का कार्यालयमा बुधबारदेखि तालाबन्दी गरिएको हो । समितिले त्यहाँस्थित स्वास्थ्य संस्थाबाहेक वडा कार्यालय, विद्यालय र विभिन्न सङ्घ संस्थालगायतका कार्यालयमा तालाबन्दी गरेको प्रहरीले जनाएको छ ।

राज्य पुनःसंरचना हुँदा गाउँपालिकाको केन्द्र साविकको डिलाशैनी गाविस तोकेको भए पनि गत भदौ २५ गतेको गाउँकार्यपालिकाको बैठकले केन्द्र छनोटको लागि विज्ञ टोली बोलाउने निर्णय गरेको थियो । उक्त बैठकले विज्ञ टोली बोलाउने निर्णय गरेको र उक्त टोलीको प्रतिवेदनका आधारमा केन्द्र छनोट गरिने गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिए ।

गाउँपालिकाको उक्त निर्णयको विरोध गर्दै वडा नं.४ र ७ का स्थानीयवासी आन्दोलित भएका हुन् । उनीहरुले सङ्घर्ष समिति गठन गरी यसअघि गाउँपालिका कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रसासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइसकेका छन् । गाउँपालिका केन्द्र अन्यत्र सारिए कडा आन्दोलनमा जाने स्थानीयवासी दीपकबहादुर धामीले बताए ।

गाउँकार्यपालिकाको पहिलो बैठकले साविकको डिलाशैनी गाविसभित्र उपयुक्त स्थान छनोट गर्ने भने पनि हाल आएर गाउँपालिका अन्यत्र सार्न चलखेल भएकोले बाध्य भएर आन्दोलन गर्नुपरेको धामीको भनाइ छ ।

वडा कार्यालयलगायत अन्य कार्यालयका तालाबन्दी हुँदा सम्पूर्ण कामकाज ठप्प भएका वडा नं ७ का वडाध्यक्ष प्रेम सिंह धामीले जानकारी दिए । सम्पूर्ण कामकाज ठप्प हुँदा स्थानीय नागरिक समस्यामा परेका छन् ।

सङ्घर्ष समितिले तालाबन्दी गरेपछि उक्त क्षेत्रमा शान्ति सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी चौकी गोकुलेश्वरका प्रहरी हबल्दार नरेशसिंह कुँवरले बताए ।