विकासको नाममा प्राकृतिक उत्खनन् हुंदा पर्यावरणमाथि गम्भीर असर

बुलेटिन संवाददाता
३० भाद्र २०७६, सोमबार २०:१८

३० भदौ, बुटवल । विकासको नाममा प्राकृतिक उत्खनन् हुंदा पर्यावरणमाथि गम्भीर असर परेको भू–तथा पर्यायवरण संरक्षण अभियान नेपालका अध्यक्ष रश्मीराज नेपालीले बताएका छन् ।

प्रकृतिको उचित संरक्षण नहुंदा विश्वमा नै पर्यावरणमा असर देखिएको बताए । भू–तथा पर्यायवरण संरक्षण अभियान नेपालले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी मानव समाजबाटै प्रकृतिमाथि दोहोन हुंदा पर्यावरण बिग्रदै गएको चिन्ता गरे । पूर्व सांसदसमेत रहेका राष्ट्रिय जनमोर्चाका नेता नेपालीले सरकारले भू– तथा पर्यावरण क्षेत्रमाथि भएको गम्भीर असरमाथि ध्यान नदिएको बताए । विकास निर्माणका नाममा पहाडी क्षेत्रमा पर्यावरणलाई ध्यान नदिएर जथाभावी डोजर, इस्काभेटरको प्रयोगले प्राकृतिक दोहोन भएको बताए ।

उनले देशव्यापी रुपमा बैज्ञानिक वन व्यवस्थापन र सांझेदारी वन बिकासको नाममा वन क्षेत्र अतिक्रमण भइरहेको उल्लेख गर्दै राष्ट्रपति चुरे मधेश संरक्षण विकास समिति चुरे कार्यक्रमलाई स्थानीय निकायलाई अधिकार सुम्पने नाममा प्राकृतिक उत्खनन् भएको बताए । प्रकृति दोहोनलाई रोक्नुको साटो सरकारले स्वीकृति दिएकाले दाङ, अर्घाखाची, प्युठान, पाल्पा, त्रिशुली, नवलपुर लगायत पूर्वी भावर क्षेत्रमा प्रकृतिकमाथि जथभावी दोहोन भैरहेको बताए ।

राष्ट्रिय जनमोर्चाका प्रवक्ता तथा सांसद दुर्गा पौडेलले जथाभावी चुरे पहाड, नदीनाला उत्खनन् भएको र दाउराको नाममा वन जंगलमा चोरी निकासी भएको बताइन । निश्चित मापदण्ड नवनाई चुरे पहाड, नदीनाला उत्खनन् गरिंदा पर्यावरणमाथि असर परेको उनको भनाइ छ । विकासको नाममा अनावश्यक चुरे पहाड, नदीनाला उत्खनन् र वन जंगल फडानी गर्न नहुने बताउंदै विकासको लागि विज्ञहरुको सुझावमा आवश्यक नदीजन्य पदार्थ निकाल्न सकिने बताइन ।

जथाभावी डोजर र एक्साभेटर प्रयोग गरे चुरेदेखि नदीनाला उतखनन् गर्नै नहुने उनको भनाइ छ । पर्यावरण संरक्षणका लागि प्राकृतिक सम्पदाहरुको संरक्षण गर्नुपर्ने र त्यसको लागि जनतालाई सचेत गराउने गरी देशभर अभियान चलाउने सांसद पौडेलले बताइन ।

पर्यायवरण सम्वन्धी समस्याको पहिचान र समाधानका लागि बिज्ञहरुको सहभागितामा अध्यन र अनुसन्धान कार्यलाई अगाडी बढाउन भू–तथा पर्यायवरण संरक्षण अभियान नेपालले कार्यक्रम तय गरेको जानकारी गराइन ।