मन्त्रीज्यूका कारण भन्दा पनि होहल्ला गर्नेका कारण झन ढिला भो उडान : बुद्ध एयर

बुलेटिन संवाददाता
३० भाद्र २०७६, सोमबार १७:४६

३० भदौ,  काठमाडौं । शनिवार नेपालगञ्जबाट काठमाडौं उडानका क्रममा भएको विवादबारे बुद्ध एयरले आफ्नो भनाइ सार्वजनिक गरेको छ । घटना भएको तीन दिनपछि उसको आधिकारिक भनाइ बाहिर आएको हो ।

सोही उडानमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई काठमाडौं फर्कँदै थिए । मन्त्रीका कारण उडान केही ढिला भएको थियो । उडान ढिला भएको भन्दै भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीको नेतृत्वमा केही यात्रुहरुले होहल्ला गर्दै मन्त्री भट्टराईलाई अभद्र व्यवहार गरेका थिए ।

सो घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि त्यसबारे धेरै टिकाटिप्पणी समेत भएको थियो । तर, बुद्ध एयरले तत्काल सो घटनाबारे केही बताएन । आज घटनाबारे सत्य तथ्य विवरण भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लेखेको पत्रमा मन्त्रीका कारण भन्दा पनि बढी ढिलाई होहल्ला गर्नेहरुका कारण भएको बताएका छन् ।

सो घटनामा कार्यक्रमबाट आउँदा आउँदै उडान समयभन्दा केही समय ढिलाई भएकोमा मन्त्री भट्टराईले सार्वजनिक रुपमा क्षमा मागिसकेका छन् ।

त्यसो त, सो जहाजमा होहल्ला हुँदै असहज हुँदाहुँदै जहाज उडाउने बुद्ध एयरले यात्रुहरुमाथि गैरजिम्मेवारीपन देखाएको समेत टिप्पणी हुँदै आएको छ ।