जिल्ला मालपोत कार्यालय डोटीमा पहिलोपटक अनलाइन सेवा शुरु

रासस
३० भाद्र २०७६, सोमबार १२:११

३० भदौ, डोटी । जिल्ला मालपोत कार्यालय डोटीमा आइतवारदेखि पहिलोपटक अनलाइन सेवा शुरु भएको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो ।

उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका-१ कि कृष्णा शाहीलाई अनलाइनमार्फत लालपुर्जा प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताए ।

अनलाइनबाट सेवा दिने डोटीको मालपोत कार्यालय देशभरिमै ९२ औँ शाखा कार्यालय हो । सेवाग्राहीको सम्पूर्ण अभिलेख अनलाइन सेवा शुरु गरिएका जुनसुकै मालपोत कार्यालयबाट पनि हेर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक यमप्रसाद सुवेदीले बताए ।

उनले भने, ‘अनलाइन सिस्टममा लालपुर्जा राखिए न हराउने डर, न चोरी हुने डर, कसैले झुक्याएर पनि कारोबार गर्न सक्दैन ।’ यतिमात्र नभई अनलाइनमा राखिएका आफ्ना कागजात सेवाग्राहीले तिर्नुपर्ने राजस्वबारे हिसाब गर्न सक्ने, कारोबार भए पनि मोबाइलमा जानकारी पाउने व्यवस्था मिलाइएको छ ।