श्रीमतीको हत्या गरी १५ वर्षदेखि फरार अभियुक्त पक्राउ

बुलेटिन संवाददाता
२७ भाद्र २०७६, शुक्रबार १४:३०

२७ भदौ, गौशाला । श्रीमतीको हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरी आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रहरीले औरही नगरपालिका- २ का अभियुक्त विनोद सदा मुसहरलाई सार्वजनिक गरेको हो ।

विसं २०६१ कात्तिक १८ गते औरही नगरपालिका वडा नं २ (साविकका औरही गाविस वडा नं ८) मा आफ्नो ४० वर्षीया श्रीमती बेचनी देवी सदाको हत्या गरेका थिए ।

प्रहरी निरीक्षक किशोर अचार्यले फरार रहेका प्रतिवादी मुसहरले घरायसी विवादका कारण आफ्नो श्रीमती बेचनी देवी सदालाई बञ्चरो प्रहार गरी हत्या गरेको बताउँदै उनलाई गएराति घरबाटै पक्राउ गरेको जानकारी दिए ।

विनोदलाई प्रहरीले विशेष सुराकीका आधारमा गएराति घरबाटै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पक्राउ परेका मुसहरलाई आवश्यक कानूनी कारवाहीका लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।