प्रदेश नं २ मा डेंगुको संक्रमणबाट एकजनाको मृत्यु, ७३ संक्रमित

बुलेटिन संवाददाता
२६ भाद्र २०७६, बिहीबार १२:३२

२६ भदौ, महोत्तरी । प्रदेश नं २ मा डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ भने ७३ जना संक्रमित भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका-११ का ३१ वर्षीय रामनारायण मण्डलको डेंगुको संक्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु संक्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेंगु संक्रण भेटिएको निर्देशनालयले जनाएको छ । त्यसैगरी सिरहामा १५, रौतहट र सप्तरीमा सात/सात, महोत्तरीमा तीन र धनुषामा एक जनामा संक्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए ।

बुधबार बिहानसम्म १६ जनामा डेङ्गुको संक्रमण देखिएको थियो भने दिउँसो सो संख्या २५ र अबेर रातिसम्म ७३ पुगेको हो । प्रदेशका सबै जिल्लामा डेङ्गुविरुद्ध सचेतना र विशेष सरसफाइ कार्यक्रम चलाइएका छन् । संक्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

महोत्तरीको सुदूरउत्तरी क्षेत्रमा डेंगु भेटिएको छ । अहिलेसम्म बर्दिवास र यसैसँग सीमा जोडिएको औरही नगरपालिकामा डेङ्गुको संक्रमण तीन जनामा भेटिएको हो । दुई वर्ष पहिले २०७४ को हिउँदमा महोत्तरीको बर्दिवास क्षेत्रमा डेङ्गु आतङ्क नै छाएको थियो । त्यतिखेर बर्दिवास र आसपासका क्षेत्रमा गरी ७०० भन्दा बढी डेङ्गु प्रभावित भएका थिए ।

यसैबीच बर्दिवास नगरपालिकाले डेङ्गुविरुद्ध सचेतना र सरसफाइ कार्यक्रम सँगसँगै सुरु गरेको छ । नगरपालिकाले आफ्नै स्वास्थ्य शाखाको संयोजनमा नगरभित्रका सबै स्वास्थ्य संस्था र सामाजिक संघसंस्थालाई अभियानमा परिचालन गरिएको नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए । बर्दिवास नगरपालिकाले वडा नं १ का अध्यक्ष चुडामणि पोखरेलको संयोजकत्वमा सरसफाइ अभियान समिति नै गठन गरेर काम थालेको जनाएको छ ।