बढ्यो सप्तकोशीमा पानीको बहाव, विराटनगर जलमग्न

बुलेटिन संवाददाता
२६ असार २०७६, बिहीबार ०४:०४

२६ असार, सुनसरी । तीन दिनदेखि निरन्तर पानी परिरहँदा पूर्वको प्रमुख नदी सप्तकोशी नदीको बहाव बढेको छ । आज विहान ६ बजे मापन गरिए अनुसार सप्तकोशी नदीको पानीको बहाव अस्ति र हिजोको तुलनामा बढेर ९९ हजार ८ सय २० क्युसेक प्रतिसेकेण्ड रहेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

निन्तर बर्षको कारण सप्तकोशी नदीको बहाव बढ्दै गइरहेको कोशी व्यारेज कन्ट्रोल रुमले जनाएको छ । पूर्वी पहाडी क्षेत्रहरुमा निरन्तर बर्षा भइरहेकोले सप्तकोशी नदीमा पानीको बहाव अझै बढन सक्ने बताइएको छ । यता निरन्तर बर्षको कारण पूर्वका विभिन्न ठाउँमा डुवान भएको छ ।

एक नम्वर प्रदेशको राजधानी विराटनगर डुवानको चपेटामा परेको छ । गएको तीन दिनदेखि निरन्तर परिरहेको पानीको कारण विराटनगरका अधिकांश ठाउँहरु जलमग्न भएका छन् भने विराटनगरको शहिद रंगशालामा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश लिग प्रतियोगिता समेत धरानमा हुने भएको छ ।

प्रतियोगिताको फाईनल चरणका खेलहरु एक नम्वर प्रदेशको राजधानी विराटनगरको शहिद रंगशालामा गर्ने भनिए पनि निरन्तर बर्षाका कारण रंगशालामा पानी जमेकोले विराटनगरमा खेल हुन नसक्ने भए पछि बाकी सवै खेलहरु धरान रंगशालामा हुनेगरी सारिएको लिग आयोजक समितिले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।