नेपाल वायुसेवा निगमलाई ग्वाङझाउ उडानमा नयाँ शर्त, जापानको नारितामा अनुमति मिलेन

बुलेटिन संवाददाता
२४ असार २०७६, मंगलवार १०:२६

२४ असार, काठमाडौं । नेपाल वायुसेवा निगमलाई ग्वाङझाउमा आफ्नो जहाज उडाउन प्रारम्भिक स्वीकृति दिएको महिना नबित्दै नयाँ शर्त राखेको छ । आफ्नो विज्ञ टोलीले निगमको ‘सेफ्टी अडिट’ गरेपछि मात्रै अनुमति दिने निर्णय गरेको जनाएको छ ।

अनुमति प्रक्रियाका क्रममा निगमले पठाएका कागजातमा चित्त नबुझाएर चीनले अडिट टोली नेपाल पठाउन लागेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अडिटका लागि आउने टोलीको नामावली प्राप्त भइसकेको बताए । निगमले व्यवस्थापन टोली गठन गरी उनीहरुलाई सहजीकरण गर्ने जानकारी दिएको छ ।

चीनले नेपाल एयरलाइन्समा चिठी पठाउँदै टोली ‘सेफ्टी अडिट’का लागि नेपाल आउन लागेको जानकारी गराएको थियो । अडिटका सम्बन्धमा ४९ पानाको चेकलिस्ट पनि पठाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । अडिट प्रतिवेदन आउन बढीमा ९० दिन लाग्ने उनको भनाई छ । सोही कारण चीन उडान बढीमा तीन महिना पर सर्ने निश्चित भएको छ ।

चीनबाट नेपालमा ५ वटा वायुसेवाले उडान गर्छन् । तर, चीनले नेपालबाट भने वायुसेवा कम्पनीहरुलाई उडान अनुमति दिएको छैन । नेपाल र चीन बीचको द्विपक्षीय हवाई सम्झौताअनुसार हुने साताको ७० उडान अहिले एकतर्फी भइरहेको छ ।

तर, सम्झौताअनुसार उडान दुवैतर्फबाट हुनुपर्ने हो । चीनको आफ्नै लगानी रहेको हिमालय एयरलाइन्सले समेत चीनमा उडान बिस्तार गर्न सकेको छैन । नेपाल र चीनबीच पुनः द्विपक्षीय सम्झौताको तयारीसमेत छ ।

जापानको नारितामा अनुमति मिलेन

यसैगरी, जापानको ओशाकामा उडानको तयारी गरिरहेको निगमले नारीतामा भने अझै अनुमति पाएको छैन । ओशाकामा भने अगस्ट २१ बाट उडानको तालिका सार्वजनिक गरिएको छ । नारीतामा अझै अन्यौल रहेको निगमले जनाएको छ ।