१२ वर्षपछी कोपा अमेरिका फुटबलको उपाधि ब्राजिललाई

बुलेटिन संवाददाता
२३ असार २०७६, सोमबार ०७:२७

२३ असार, बुटवल। कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ । गए राति माराकाना रंगशालामा भएको खेलमा फाइनलमा पेरुलाई ३–१ ले हराउँदै ब्राजिलले १२ वर्षपछी कोपा अमेरिकाको उपाधि जितेको हो ।

खेलको १५औं मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ४४औं मिनेटमा पेरुले पेनाल्टी पायो र पेरुका लागि गुइरेरोले पेनाल्टीबाट गोल गर्दै १-१ गोलको बराबरी दिलाएका थिए ।

पहिलो हाफको अतिरिक्त समयमा जेससले गोल गर्दै ब्राजिललाई पहिलो हाफअघि २–१ को अग्रता दिलाए । ७०औं मिनेटमा कार्लोस जाम्ब्रानोलाई फाउल गरेका कारण जेससले दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि ब्राजिल बाँकी २० मिनेट १० खेलाडीमा झरेको थियो ।

९०औं मिनेटमा जाम्ब्रानोले एभर्टनलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टी पायो । रिचार्डलिसनले पेनाल्टीलाई गोलमा परिणत गर्दै ब्राजिललाई ३-१ गोलको जित दिलाए । यो जित संगै ब्राजिलले १२ वर्षपछी कोपा अमेरिकाको उपाधि जितेको हो ।