आईफा अवार्ड नहुने भो काठमाडौंमा

बुलेटिन संवाददाता
१८ असार २०७६, बुधबार ०८:५४

१८ असार, काठमाडौ । अन्तत: भारतीय फिल्म अवार्ड आईफा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने पुष्टि गरे । ‘यो वर्ष नहुने नै भयो, अब एकरदुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुन: आयोजनाको सम्भावना रहन्छ’ उनले भने ।

सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो ।

त्यसपछि उक्त अवार्ड कार्यक्रममा नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै विरोध भएको थियो ।