अमेरिकी विदेशमन्त्री भारत भ्रमणमा

बुलेटिन संवाददाता
११ असार २०७६, बुधबार १२:३१

११ असार, एजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ भारत आएका भ्रमणमा आएका छन् । पोम्पेओ मंगलबार राति नयाँ दिल्ली ओर्लिएका हुन् । बुधबार बिहान उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेका छन् ।

दुई नेताहरूको भेटमा अमेरिका र भारतको सम्बन्धलाई थप मजबुद् बनाउने विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । पोम्पेओले भारतीय समकक्षी एस जयशंकरसँग द्वीपक्षीय वार्ता पनि गरेका छनै ।

गत महिना मोदी दोस्रो कार्यकालका लागि सत्तामा आएपछि पहिलो पटक अमेरिकी उच्च अधिकारी भारत भ्रमणमा आएका हुन् । पछिल्लो समय विश्वको छैठौं ठूलो अर्थतन्त्र भारत र अमेरिकाको व्यापार सम्बन्धमा तनाव छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई गत जुन पहिलो साता भन्सार छुटको सहुलियत (जिएसपी) पाउने मुलुकको सूचीबाट हटाएका थिए ।

अमेरिकी सामानलाई भारतीय बजारमा सहज पहुँच नदिएको र भारत अब जिएसपी पाउने विकासोन्मुख मुलुक नरहेको भन्दै अमेरिकाले भारतबाट आयात हुने सामानमा कर लगाएका थियो ।

त्यसको जवाफमा भारतले हुने गरी आलमोन्ड, स्याउलगायत २८ अमेरिकी सामानमा कर बढाएको छ । अमेरिकाले अघि सारेको इन्डो एसिया प्यासेफिकको एउटा महत्वपूर्ण साझेदार भारतले आफूलाई जिएसपीको सूचीबाट हटाउने अमेरिकी कदम दुर्भाग्यपूर्ण भएको बताउँदै राष्ट्रिय स्वार्थको रक्षा गर्ने बताएको छ । भारतले अमेरिकालाई जिएसपीको सूचीबाट आफूलाई हटाउने निर्णय फिर्ता लिन अनुरोध गरेको थियो ।

तर भारतीय अनुरोध अमेरिकाले लत्याइदिए पछि भारतले अमेरिकी सामानमा ७० प्रतिशतसम्म कर बढाएको हो । अमेरिका र भारतबीच गत वर्ष १४२.१ अर्ब डलरको व्यापार भएको थियो। त्यसमध्ये जिएसपी मुलुकको हैसियतमा भारतले ५.६ अर्ब डलरका सामान बिनाकर अमेरिका पठाएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भारतले इरानसँग तेल किन्ने र रूससँग एस ४०० एन्टी एयरक्राफ्ट मिसाइल किन्ने सम्झौता अघि बढाए भारतमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

शुक्रबारदेखि जापानको ओसाकामा हुने जी–२० राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच दुई पक्षीय सम्बन्धका विषयमा साइडलाइन वार्ता हुने तय भएको छ ।